सडक निर्माण तथा मर्मत गर्ने ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५८ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागले मंगलबार जारी गरेको सूचनाअनुसार ४८ वटा सडक डिभिजन काठमाडौंका, पाँचवटा सडक डिभिजन भरतपुरका र पाँचवटा जुम्लाअन्तर्गतका ठेक्का रहेका छन् ।
सडक विभागले यसअघि पनि विभिन्न एक सय आठवटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । अहिले थप ५८ सहित गर्दा सडकतर्फका एक सय ६६ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने, तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।
त्यसपछि सडक विभागले रुग्ण ठेक्का तोड्ने प्रक्रिया तीव्र बनाएको छ । ठेक्का तथा योजनाको पटक–पटक म्याद थप भई तोकिएको अवधिमा समेत निर्माणकार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माणकार्य अधुरो तथा अलपत्र पारी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत रूपमा ठेक्का उल्लंघन गरेको उल्लेख गरिएको छ ।
सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत–साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।