कात्तिकमै हिमपात : किसान र पर्यटन व्यवसायी उत्साहित

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण
कात्तिकमै हिमपात : किसान र पर्यटन व्यवसायी उत्साहित

उपल्लो मुस्ताङमा हिउँ पन्छाउँदै सशस्त्र प्रहरी

  • हिमाली क्षेत्रमा सिँचाइको स्रोत नै हिउँ भएकाले हिउँदे बालीलाई राम्रो गर्नेछ भने हिमपातले तत्काललाई समस्या परे पनि सेताम्मे हिमाल हेर्न पर्यटक बढ्नेमा व्यवसायी आशावादी छन्

पश्चिमी वायु सक्रिय रहेका वेला अरब सागरमा न्यूनचापीय प्रणाली पनि भित्रिएपछि यसपटक हिमाली क्षेत्रमा कात्तिकमै हिमपात भएको छ । मंगलबार ताप्लेजुङको कञ्चनजंघा, सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बु, दोलखाको च्छोरोल्पा र रोल्वालिङ, मनाङ, मुस्ताङदेखि पश्चिममा उपल्लो डोल्पासम्म हिमपात भएको हो ।

अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गत हुमखोलामा होटेल सञ्चालन गरेका पर्यटन व्यवसायी तेज गुरुङका अनुसार आधार शिविर क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा पनि भएको छ । हिमपातका कारण तत्कालका लागि पर्वतारोहण र पदयात्रा प्रभावित भए पनि किसान र पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पछिल्लो दुई वर्षमा माघपछि मात्र हिमपात हुन थालेकामा यस वर्ष हिउँद लाग्नुअघि नै हिमपात भएपछि हिमाली बालीनालीलाई राम्रो हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलस्रोतविज्ञ दिनकर कायस्थले पोस्ट मनसुन (हिउँदअघिको समय) मा पश्चिमी वायु र न्यूनचापीय प्रणालीबाट जलवाष्पयुक्त हावा पर्याप्त प्रवाह हुँदा पहाड र तराई क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात भएको बताए । ‘हिउँ पानीको स्रोत पनि हो । पर्याप्त हिमपात हुँदा सुक्खायाममा खोलानालामा पर्याप्त पानी हुन्छ, सिँचाइदेखि जलविद्युत्लाई सघाउ पुर्याउँछ,’ उनले भने, ‘समयमा हिमपात नहुँदा र चाँडै पग्लिँदा हिमाल काला देखिन्छन् । तर, हिमपातले सेताम्य बनाउँदा पर्यटक पनि आकर्षित हुन्छन् ।’

स्याउ टिपेर सकिएको, फापर, आलु र सिमी पाकेर भित्र्याइसकेको अवस्थामा पानी र हिमपात भएकाले स्याउबारीको सिँचाइ र हिउँदेबालीको लागि राहत मिलेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– १, खिङ्गाका किसान लाक्पा टसी गुरुङले बताए । ‘एक दशकपछि कात्तिकमा बाक्लो हिमपात भयो, तीन वर्षयता मौसमी हिमपातसमेत राम्रो भएको थिएन,’ उनले भने, ‘हिमपात नहुँदा यहाँ सिँचाइका लागि निकै कष्ट भएको थियो, यस वर्ष स्याउ बगैँचादेखि अन्नबाली लगाउने बारी राम्रोसँग सिञ्चित भएका छन् ।’

मुस्ताङका अधिकांश गाउँमा हिउँमा आधारित पानीका मुहान छन् । पर्याप्त हिउँ नपर्दा हिउँ जम्न नपाउने भएकाले पानीका मुहानहरूसमेत सुक्ने समस्या बढ्दो थियो । यस वर्ष कात्तिकमै हिमपात भएपछि हिमाल तथा हिमाली क्षेत्रमा हिउँ जम्ने र पानीका मुहान रसाउने अपेक्षा गरिएको छ । वर्षा र हिमपातले आगामी वर्ष स्याउ र अन्नबालीको उत्पादन बढाउन सहयोग पुग्ने कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले बताए । मुस्ताङमा ८९० हेक्टरमा स्याउखेती हुँदै आएको छ ।

त्यस्तै, उपल्लो कर्णालीका जुम्ला, कालीकोट, मुगु, डोल्पा र हुम्लाका लेकाली भेगतिर हिमपात भएको छ । बेँसीतिर वर्षा पनि भएको छ । डोल्पाको उत्तरी क्षेत्रमा झन्डै एक फिटसम्म बाक्लो हिमपात भएको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए । ‘गाउँबस्ती र डाँडाकाँडा हिउँले सेताम्य भएका छन्,’ उपाध्यक्ष गुरुङले भने । वर्षा र हिमपातले हिउँदे गहुँ, जौ लगाउन सहज भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । 

हिमपातले सडक अवरुद्ध हुन थालेपछि  मुस्ताङका विभिन्न सडकसँगै कोरला नाका जाने बाटोमा परेको हिउँ प्रहरीले पन्छाएको छ । मनाङको डिस्याङ गाउँपालिका– ४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा समेत प्रहरीले हिउँ हटाएको छ ।

पर्यटक बढ्ने आशा
दसैँ–तिहारलक्षित पर्यटकको चहलपहल भइरहेका वेला हिमपात भएपछि कतिपय हिमशृंखलाका बेसक्याम्प क्षेत्रबाट उद्धार गर्नुपरेको छ । तर, हिउँले ढाकिएको मुक्तिनाथलगायत क्षेत्रमा पर्यटक रमाएका छन् । मौसम स्थिर भएपछि हिमशृंखलाका बेसक्याम्प क्षेत्रमा पनि पर्यटक बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ ।  

मुक्तिनाथ मन्दिर विकास समितिका व्यवस्थापकसमेत रहेका होटेल व्यवसायी रविन सुवेदीले हिमपातले मुस्ताङको पर्यटनमा थप सकारात्मक प्रभाव पार्ने बताए । उनका अनुसार सोमबार बिहानैदेखि भारी हिमपातका बाबजुद पनि पर्यटक मुक्तिनाथ मन्दिरको दर्शनमा पुगे । ‘मुक्तिनाथ मन्दिरपरिसरमा साढे एक फिटसम्म हिउँ परेको छ, सवारीसाधनमार्फत पर्यटक र तीर्थयात्रीहरू मुक्तिनाथ आउनेक्रम जारी छ, चिसो बढेकाले सकर्तकता अपनाउन अनुरोध गरिएको छ,’ सुवेदीले भने ।

केही दिन हिमपात भए हिउँमा खेल्न र रमाउनका लागि पर्यटकको आगमन बढ्ने होटेल व्यवसायीको अपेक्षा छ । यस वर्ष तिहारको सुरुवातसँगै मुस्ताङमा आन्तरिक पर्यटकको आगमन थामिनसक्नु छ । मुस्ताङ र म्याग्दीको अन्नपूर्ण प्रथम आधार शिविरमा अत्यधिक पर्यटक आएपछि बेनीदेखि मुस्ताङसम्मका सबै होटेल दैनिकजसो भरिभराउ हुँदै आएका छन् । मुक्तिनाथ क्षेत्रका सबै होटेलमा मंगलबारसमेत पर्यटक भरिभराउ रहे ।

हिमपातको असर पदयात्रामा 
सोमबार रातिदेखिको वर्षा र हिमपातले पदयात्रामा असर गरेको छ । यात्रा जोखिम भएपछि गण्डकीका पाँच जिल्ला कास्की, मनाङ, मुस्ताङ, गोरखा र म्याग्दी जिल्ला प्रशासनले सूचना जारी गर्दै प्रतिकूल मौसमका कारण पदयात्रा नगर्न आग्रह गरेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका प्रमुख डा. रविन कडरियाका अनुसार कात्तिकको डेढ सातामा एक लाख २० हजारको हाराहारीमा स्वदेशी र १२ हजारभन्दा बढी विदेशी पर्यटक अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका छन् । उनीहरूमध्ये २० हजार स्वदेशी र सात हजार विदेशी पदयात्री विभिन्न पदमार्गमा छन् । सोमबार रातिदेखि वर्षा र हिमपात भएको तथा सो समय पदमार्गमा रहेका सबै पर्यटक होटेलमा रहेकाले सुरक्षित रहेको कडरियाले बताए ।
जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गरी यात्रा गर्न, अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका स्थानमा मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन आग्रह गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुस्ताङ–डोल्पा याकखर्क क्षेत्र पाँच हजार आठ सय मिटर, मुस्ताङ–मनाङ थोरडला पास पाँच हजार चार सय ५० मिटर, मुस्ताङ–मनाङ सरिबुङ पास ६ हजार मिटर र मुस्ताङ–म्याग्दी धौलागिरि पदमार्गको धम्पुस पिकलगायत अन्य भागमा हिमपात हुने उच्च सम्भावना रहेकाले पदयात्रा नगर्न अनुरोध गरेको छ । गोरखा प्रशासनले जिल्लाका उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण विपत्का घटना हुन सक्ने अवस्था रहेको भन्दै हिमाली क्षेत्रमा पदयात्रामा रहेका पर्यटकहरूलाई सुरक्षित स्थानमा बस्न एवं मौसममा सुधार नभएसम्म पदयात्रामा नजान भनेको छ । मनाङ प्रशासनले पदयात्रा तथा हिमाल आरोहण नगर्न/नगराउन अनुरोध गरेको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा मौसममा आएको खराबी र हिमपातको कारण भ्रमणमा जान रोक लगाइएको छ । अन्नपूर्ण आधार शिविर र पदमार्ग क्षेत्रमा सञ्चारको पहुँच नभएकाले पर्यटक बिरामी र अलपत्र पर्ने जोखिम रहेकाले अन्नपूर्ण गाउँपालिकासँगको समन्वयमा पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए । 

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्धसहित शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकामा समेत बाग्लो हिउँ जमेपछि पर्यटक पनि गाउँमै रोकिएका छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर रेग्मीले हुम्लाको उच्च हिमाली क्षेत्रमा पर्ने न्यालु लेक, लिमी लाप्चा र नारा लेकलगायतका क्षेत्रमा स्थानीय र पर्यटकलाई आवागमन नगर्न अपिल गरिएको बताए ।

मोन्था चक्रवातको असर : बिहीबारदेखि तीन दिन मध्य तथा पूर्वी नेपालमा वर्षा
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असरले पूर्वी र मध्य नेपालकेन्द्रित वर्षा हुने आकलन गरिएको छ । वर्षाका कारण कोशीका १०, मधेशका सात र बागमतीका नौ गरी २६ जिल्ला प्रभावित हुने प्रक्षेपण छ । यी क्षेत्रका ठुला नदीमा बाढीको जोखिम नरहे पनि खहरे खोला र ससाना नदीमा आकस्मिक बाढीको चेतावनी दिइएको छ । 

जल तथा मौसम विज्ञान विभागको प्रवक्तासमेत रहेकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भू–भागनजिक आएर पूर्वतर्फ सर्दै बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म कोशी, मधेश र बागमतीको मौसम प्रभावित हुने देखिन्छ । ‘यो प्रणालीको प्रभावले कोशी र मधेशका धेरै स्थान तथा बागमतीका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘मधेश र कोशीका एक–दुई स्थानमा ठुलो वर्षाको सम्भावना पनि छ ।’ 

त्यस्तै, गण्डकी र लुम्बिनीका पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षा पनि हुने आकलन छ । पश्चिमी वायु र अरब सागरमा विकसित न्यूनचापीय प्रणालीका कारण मंगलबार लुम्बिनी र गण्डकीकेन्द्रित वर्षा भइसकेको छ । बंगालको खाडीमा विकसित चक्रवात मंगलबार राति भारतको आन्द्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरिसकेको छ  । यो चक्रवात मध्य नेपालमा प्रवेश गरी पूर्वतर्फ लाग्ने आकलन छ ।  

आगामी बिहीबारदेखि वर्षा हुँदा बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तहआसपास पुग्न सक्ने आकलन छ । तर, कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बग्ने ससाना नदीनालामा भने आकस्मिक बाढीको चेतावनी दिइएको छ । बाढी पूर्वानुमान महाशाखाले बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली तथा मधेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरीका ससाना नदीमा आकस्मिक बहावको सम्भावना छ । त्यस्तै, कोशीका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका साना नदीमा पनि आकस्मिक बहावको सम्भावना छ ।

आगामी बिहीबारदेखि कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना पनि छ । कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा बाक्लो हिमपात हुने ठानिएको छ । सोमबार र मंगलबार पनि विशेष गरी गण्डकी र बागमतीका उच्च हिमाली क्षेत्रकेन्द्रित हिमपात भएको छ । 

कोशी, मधेश र बागमतीका २६ जिल्ला प्रभावित हुने आकलन
कोशी : संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी 

मधेश : बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी 

बागमती : काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली 

प्राधिकरणले भन्यो–  अत्यन्त जरुरी नभई सकेसम्म यात्रामा ननिस्कनू, धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन आग्रह  

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म यात्रामा ननिस्कन आग्रह गरेको छ । त्यस्तै, धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन आग्रह पनि गरेको छ । 

प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित हुन सक्ने आकलन गरिएका जिल्लाका विपत् व्यवस्थापन समिति र सुरक्षा समितिलाई आवश्यकताअनुसार सवारी आवागमनबारे निर्णय गर्न भनिएको छ । ‘मनसुन बाहिरिए पनि चक्रवातका कारण पानी पर्ने आकलन गरिएको छ । यसले गत भदौको बाढीबाट क्षतिग्रस्त क्षेत्रमा असर गर्न सक्छ, त्यही भएर तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई अलर्ट रहन भनेका छौँ,’ उनले भनिन् ।

See More On

सुझावित समाचार