नेपाली संगीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक भएको छ। ‘मुक्तक’ नामक उक्त एल्बम सोमबार काठमाडौंमा सार्वजनिक गरिएको हो। एल्बममा मुक्तककारहरू रश्मि असफल, राधा कणेल र घनेन्द्र ओझाका २–२ वटा मुक्तक छन् जसलाई संगीतकार सन्तोष श्रेष्ठले संगीत र स्वर दिएका छन्।
एल्बम छन्द सारथि एवं छन्दकवि रमेश खकुरेल, पूर्वमुख्य सचिव तथा क्यानडाका नेपालका पूर्वराजदूत साहित्यकार डा. भोजराज घिमिरे, कवि एवं समालोचक प्राडा देवी नेपाल, संगीतकार एवं गायक कन्हैयासिंह परियार, स्रष्टाका मातापिताहरूलगायतले सार्वजनिक गरेका थिए।
एल्बममाथि टिप्पणी गर्दै प्राडा देवी नेपालले मुक्तक आफैँमा छोटोमा विशिष्ट र चामत्कारिक अभिव्यक्ति दिने विधा भएको र पहिलोपटक नेपाली मुक्तकलाई एल्बमका रूपमा ल्याएकामा बधाई दिए। प्राडा नेपालले नेपाली मुक्तक लेखनमा अझै परिष्कार र तीव्र झड्काको आवश्यकता रहेको पनि बताए।
कार्यक्रममा ६ वटै मुक्तक सन्तोष श्रेष्ठले प्रत्यक्ष गाएका थिए। प्रत्यक्ष गायनमा बाँसुरीमा धनबहादुर गुरुङ र तबलामा शम्भु श्रेष्ठले साथ दिएका थिए।