बेलायतको ननिटनका मेयर सारू सिंहदरबारमा सम्मानित

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भूतपूर्व गोर्खा क्याप्टेन भीम सारूमगर सिंहदरबारमा सम्मानित भएका छन्। नेपाल भ्रमणमा रहेका मगरलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सम्मान गरेकी हुन्।

सम्मान गर्दै उपसभामुख रानाले बेलायतीको मन जित्दै मेयरजस्तो पदमा पुगेकोमा मगरलाई बधाई दिइन्। ‘नेपालीका लागि तपाईं एउटा गौरव हो,’ उनले भनिन्, ‘बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका खेल्ने अपेक्षा गरेको छु।’

उपसभामुखले सम्मान गर्दा प्रतिनिधिसभाका सचिव हर्कराज राई, सहसचिव एवं संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव ओमबहादुर कार्की, सुरेश सेढाईंलगायतको उपस्थिति थियो। मेयर मगरले जनप्रतिनिधिका रूपमा आफूले गरिरहेको कामबारे अनुभव साटासाट गरेका थिए।

पाल्पाको चिदीपानी चन्द्रवन (हाल माथागढी गाउँपालिका–१)मा जन्मेका सारूले सौभाग्य माविबाट विद्यालय शिक्षा पूरा गरेका थिए। पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका उनले झन्डै तीन दशक ब्रिटिस सेनामा सेवा गरे। रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रूपमा सेवा निवृत्त भएका सारू हाल ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्ष छन्।

बेलायतमा सन् २०१७ देखि ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइरहेका सारू सफल व्यवसायी एवं समाजसेवीको रूपमा परिचित छन्।

सुझावित समाचार