अंग्रेजी महिना अक्टोबरको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’मा यसपटक ज्ञानु राणा प्रस्तुत हुने भएकी छिन्।
आउँदो शुक्रबार र शनिबार हुने यो पलेँटीमा प्रसिद्ध लोक कलाकार धर्मराज थापाको सम्झना पनि गरिने भएको छ। ज्ञानु राणा कलाकार धर्मराज थापाकी छोरी हुन्। पलेँटीमा ज्ञानुका छोरा विकासजंग राणाले समेत धर्मराजका लोकप्रिय गीतहरू सुनाउनेछन्।
विशेष गरी लोक गायनमा भिजेकी ज्ञानु राणाले गाएका आधुनिक गीत, गजल र भक्ति गीत पनि उत्तिकै प्रभावशाली छन्। उनले प्रसिद्ध गायक नारायण गोपालसँग सहगायन गरेका ‘मान्छेको माया यहाँ’ र ‘सिरीमा सिरी नि कान्छा’ आजसम्म पनि उत्तिकै रुचाइएका गीतमध्ये पर्छन्। गोपाल योञ्जनले बुनेको अद्भूत तामाङसेलो ‘च्याङ्बा होए च्याङ्बा’ गीतलाई अहिलेको पुस्ताले पनि उत्तिकै माया दिएको पाइन्छ।
पलेँटीमा प्रस्तुत हुने ज्ञानुका युगल गीतमा गायक रूपक चौधरीले साथ दिनेछन्। आयोजकका अनुसार यसपालिको पलेँटीमा ‘चौतारीमा मै बसे होला कि’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘आज मादल बजेको किन’, ‘साइँली रिमै चौँरी गाई’,’हरियो डाँडामाथि’जस्ता झन्डै डेढ दर्जन गीतहरू प्रस्तुत हुनेछन्।