किस्ट मेडिकल कलेज र मृतकका आफन्तबिच सहमति भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि आन्दोलित बनेका आफन्त र अस्पताल प्रशासनबिच सोमबार राति सहमति भएको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा सोमबार राति ११ बजे दुवै पक्षबिच सहमति भएको अस्पतालका प्रशासक अमिष पाठकले बताए । उनका अनुसार शिशु नहुर्किँदासम्म उसको उपचार अस्पतालले गर्ने गरी सहमति भएको हो । वार्तामा सिडिओ, जनप्रतिनिधिलगायत सहभागी थिए । आफन्तहरूले आर्थिक क्षतिपूर्ति माग गरे पनि अस्पताल दिन सहमत भएन ।
त्यस्तै, मृतकका दुई बच्चाको पढाइ खर्चसमेत माग गरे पनि अस्पतालले मानेन । अन्तिममा हाल अस्पतालमा रहेको शिशु १२ वर्ष हुँदासम्म उपचार गर्ने गरी सहमति भएको अस्पतालले जनाएको छ । सहमतिपछि मृतकका आफन्तले आन्दोलन फिर्ता लिएको र आज मृतकको शव जिम्मा लगाइनेछ । नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएकाले केही दिन अस्पतालमै राखिनेछ ।
गत शुक्रबार सुत्केरी मीना राईको मृत्यु भएको थियो । उनको अत्यधिक रक्तश्रावका कारण ज्यान गएको अस्पतालले जनाएको छ । सुत्केरीको ज्यान गएपछि आइतबार र सोमबार मृतकका आफन्तले अस्पतालपरिसरमा आन्दोलन र तोडफोडसमेत गरेका थिए । सोमबार प्रहरी तैनाथ पारेर स्थिति शान्त पारिएको थियो ।