- निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्जेन्टनालाई ४० अर्ब डलरको विशाल राहत सहायता घोषणा गर्दै मिलेईको पार्टीले जिते मात्र सो रकम निकासा गर्ने बताएका थिए
अर्जेन्टिनाका उग्र–दक्षिणपन्थी राष्ट्रपति जेभियर मिलेईको पार्टीले आइतबार भएको मध्यावधि निर्वाचनमा महŒवपूर्ण जित हासिल गरेको छ । निर्वाचनलाई धेरैले ‘अराजक–पुँजीवादी बताउने’ मिलेईको करिब दुई वर्षको शासनको जनमत संग्रहको रूपमा हेरेका छन् । चुनावको मुखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्जेन्टनालाई ४० अर्ब डलरको विशाल राहत सहायता घोषणा गर्दै मिलेईको पार्टीले जिते मात्र सो रकम निकासा गर्ने बताएका थिए । ९९ प्रतिशतभन्दा बढी मत गणना भइसक्दा मिलेईको ला लिबर्टाड अभान्जा (एलएलए)ले ४०.८ प्रतिशत प्राप्त गरेको छ भने पेरोनिस्टहरूको गठबन्धन फुएर्जा प्याट्रियाले भने ३१.७ प्रतिशत मत प्राप्त गरेको छ ।
पछिल्लो मत परिणामपछि पनि मिलेईको पार्टीसँग संसद्मा अझै बहुमत सिट हुनेछैन । तथापि, अब उनलाई विपक्षीले महाभियोगबाट हटाउन आवश्यक दुईतिहाइ बहुमत नपुग्ने देखिन्छ । यस मतपरिणामले धेरै विश्लेषकलाई समेत चकित पारेको छ । पछिल्लो समय मिलेईका नीतिले आर्थिक संकट बढाएको र उनकी शक्तिशाली बहिनी भ्रष्टाचार काण्डमा जोडिएपछि उनको लोकप्रियतामा धक्का लागेको थियो ।
केही समयअघि मात्र देशको सबैभन्दा धेरै मतदाता रहेको क्षेत्र ‘ब्युनस आयर्स’को प्रान्तीय चुनावमा मिलेईको पार्टीको लज्जास्पद पराजयले पार्टीले धेरै मत ल्याउनेमा अशंका बढाएको थियो । सेप्टेम्बरमा भएको उक्त चुनावमा मिलेईको दल पेरोनिस्ट गठबन्धनसँग १४ प्रतिशतको अन्तरले हार चाखेको थियो । मिलेई र उनका सरकारभित्रका मानिसले समेत चुनावमा यति ठुलो जितको अपेक्षा गरेका थिएनन् । बढीमा ३०–३५ प्रतिशत मत आए पनि सरकार पक्षधरले सन्तोष मान्ने चर्चा थियो । यसपटक, मिलेईको पार्टीले जनतामा आफूप्रतिको निराशाको लहरलाई उल्ट्याएको देखिन्छ । जुन अर्जेन्टिनाको लगभग ४० प्रतिशत मतदाता रहेको सबैभन्दा ठुलो चुनावी क्षेत्र ब्युनस आयर्समै पार्टीको सहज जितले संकेत गर्छ ।
‘म अहिले हराएको संसारको राजा भएको छु ,’ जितपछि समर्थकलाई सम्बोधन गर्दै मिलेईले भने, ‘आज हामीले निर्णायक बिन्दु पार गर्यौँ । यो महान् अर्जेन्टिनाको निर्माण सुरुवात हो ।’ सम्बोधनका क्रममा राष्ट्रपतिले अमेरिकी आर्थिक सहायतालाई ‘अर्जेन्टिनाको इतिहासको मात्र नभई विश्व इतिहासकै ठुलो सहायता’ भनेर प्रशंसा गर्दै अमेरिकाले यति ठुलो आर्थिक सहायता कहिल्यै प्रदान नगरेको दाबी गरे ।
‘अब हामी अर्जेन्टिनालाई आर्थिक वृद्धितर्फ लगेर उचाइमा पुर्याउन आवश्यक सुधार कार्यान्वयन गर्नमा केन्द्रित हुनुपर्छ । अर्जेन्टिनालाई फेरि महान् बनाऔँ,’ राष्ट्रपतिले स्पेनिस भाषामा ट्रम्पको अमेरिकालाई फेरि महान् बनाउने नाराको झल्को दिने नारामा भने ।
ट्रम्पले आइतबार राति नै मिलेईको पार्टीको जितलाई ‘ठुलो जित’को संज्ञा दिँदै बधाई दिए । एसिया भ्रमणमा रहेका ट्रम्पले सोमबार मिलेईले अमेरिकाबाट ‘धेरै मद्दत’ पाएको बताउँदै जितलाई ‘महान् घटना’को रूपमा व्याख्या गरे । ‘उनले हामीबाट धेरै मद्दत पाए । मैले उनलाई समर्थन दिएँ, धेरै बलियो समर्थन । हामी दक्षिण अफ्रिकाका धेरै देशसँग जोडिएका छौँ । त्यसैले हामी दक्षिण अमेरिकामा धेरै नै केन्द्रित छौँ,’ ट्रम्पले भने । ट्रम्पले जितबारे टिप्पणी गर्ने क्रममा अर्जेन्टिनालाई आर्थिक सहयोगको निगरानी गरेका वित्तमन्त्री स्कट बेसेन्टसहित केही शीर्ष अधिकारीको पनि प्रशंसा गरे ।
यसपटकको मध्यावधि चुनावमा संसद्को तल्लो सदनको २५७ सिटमध्ये आधा अर्थात् १२७ सिटका लागि र माथिल्लो सदन (सिनेट)को ७२ मध्ये एकतिहाइ अर्थात् २४ सिटका लागि भएका थियो । मिलेईको पार्टीले तल्लो सदनको ६४ सिट र सिनेटमा १२ सिट जितेको छ । नयाँ जितिएका सिटसँगै तल्लो सदनमा मिलेईको पार्टीसँग सिट संख्या ३७ बाट झन्डै तेब्बर (१०१) पुगेको छ । चुनावी अभियानमा मिलेई सरकारले राष्ट्रपतिको भिटो अधिकार सुरक्षित राख्न आवश्यक हुने तल्लो सदनको कम्तीमा एकतिहाइ सिट दिलाइदिन आह्वान गरेको थियो । त्यहीअनुरूप नै मत आएको छ ।
अहिलेसम्म, मिलेईका नीतिलाई पूर्वराष्ट्रपति मौरिसियो म्याक्रीको मध्य दक्षिणपन्थी पार्टी पिआरओले समर्थन जनाउँदै आएको थियो । अब नयाँ मतपरिणामपछि एलएलए र पिआरओको कुल मत पेरोनिस्ट गठबन्धनको भन्दा बढी भएको छ । यो सिट संख्या मिलेईका उदारवादी सुधारलाई अगाडि बढाउने प्रयासमा उपयोगी हुनेछ ।
मिलेईले लगभग दुई वर्षअघि व्यापक खर्च कटौतीको वाचा गरेर चुनाव जितेका थिए । सत्तामा आएपछि चुनावी वाचाअनुसार खर्च घटाउन उनले हजारौँ सरकारी जागिर कटौती गरेका छन् । त्यस्तै, उनले पूर्वाधार, स्वास्थ्य सेवा, शिक्षा र पेन्सनमाथिका खर्च स्थिर गरिदिएका छन् ।
यी कदमले मिलेईले सन् २०२३ मा २०० प्रतिशतभन्दा बढी रहेको अर्जेन्टिनाको मुद्रास्फीतिलाई गत महिना लगभग ३० प्रतिशतमा ल्याउन सफल भए । बजेट कटौतीकै कारण १४ वर्षमा देशमा पहिलोपटक वित्तीय अधिशेष हासिल भएको छ । त्यस्तै, लगातार तीन महिनाको गिरावटपछि अगस्ट २०२५ मा आर्थिक गतिविधि ०.३ प्रतिशतले बढ्यो । तर, क्रयशक्तिमा गिरावट आएको छ । डेढ लाखभन्दा बढीले जागिर गुमाएका छन् भने अठार हजार व्यवसाय बन्द छन् । यसले गर्दा अधिकांश अर्जेन्टिनी अहिले गुजारा गर्न संघर्ष गर्नुपर्ने अवस्थामा छन् ।
मिलेईले क्रिप्टोकरेन्सीको प्रचार गर्न थालेपछि उनको लोकप्रियतामै धक्का लाग्यो । त्यसमाथि शक्तिशाली क्याबिनेट सदस्य रहेकी उनकी बहिनी करिना मिलेई भ्रष्टाचार योजनामा फसेपछि पार्टी झन् बदनामीमा पर्यो । पछिल्लो समयसमेत उनको पार्टीका एक प्रमुख उम्मेदवार अमेरिकामा लागुपदार्थ तस्करीको आरोप लागेका एक व्यापारीबाट दुई लाख डलर लिएको स्वीकार गरेपछि आइतबारको चुनावबाट पछि हट्न बाध्य भएका थिए ।
पछिल्लो समय देशको मुद्रा पेसोको अवमूल्यन रोक्न उनको सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लिएको २० अर्ब डलर ऋणमध्ये १४ अर्ब डलर खर्चनुपर्यो । यसले देशको मुद्रा सञ्चितिमै असर गरेको छ । त्यसपछि उनी सहयोगका लागि ट्रम्पतर्फ फर्कन बाध्य भएका हुन्, जसले ४० अर्ब डलरको राहतको घोषणा गरे । उसो त उक्त रकम मिलेईले जिते मात्र दिने ट्रम्पको सर्तलाई देशका धेरैले चुनावमा हस्तक्षेपको रूपमा हेरे । केहीले देशको केही भागमा अमेरिकाविरोधी भावना रहेकाले मिलेईलाईअसर पर्नेसमेत प्रक्षेपण गरेका थिए । तर, अन्तिम नतिजा भने धेरै विश्लेषणलाई गलत सावित गर्ने गरी मिलेईकै पक्षमा आएको छ ।
द गार्जियनबाट