- प्राय: कम्युनिस्ट पार्टीको आन्तरिक जीवन नै कमजोर रहेको अवस्थामा अन्य कम्युनिस्ट पार्टीसँग गरिने एकता कसरी दिगो रहन सक्ला ?
जेन–जी युवाहरूको आन्दोलन सँगसँगै अहिले कम्युनिस्ट पार्टीबिच पुनर्गठन, रुपान्तरण र एकताको प्रसंग उठिरहेको छ । मुलुकसामु अब समाजवादी क्रान्ति गरेर समाजवाद स्थापना गर्ने युगीन अभिभारा रहेको छ । यो अभिभारा पुँजीवादी पार्टीबाट पूरा हुँदैन । छरिएर रहेका कम्युनिस्ट पार्टी एकजुट हुन सकेनन् भने फेरि पनि बुर्जुवा पुँजीवादी पार्टीले नै राज्यसत्ताको नेतृत्व गर्नेछन् ।
तर, कम्युनिस्ट पार्टीबिचको एकता कस्तो हुनुपर्छ त ? विगतको एमाले र माओवादीको जस्तै एकता कि नीति र सिद्धान्तनिष्ठ तथा समाजवादी क्रान्ति गर्ने ध्येय र उद्देश्यसहितको एकता ? फेरि अहिले दुई पार्टीबिचको मात्रै एकता कि बृहत् वामपन्थी एकता ? भन्ने प्रश्न पनि उठिरहेको छ । यतिवेला माओवादी र एकीकृत समाजवादीबाहेक रोहित, मोहनविक्रम सिंह, विप्लव, गोपाल राई, वैद्य, आहुती, सिपी मैनालीलगायतले नेतृत्व गरिरहेका पार्टी र मार्क्सवादलाई अंगीकार गर्ने अन्य समाजवादी पार्टीसँग पनि एकता र एकीकरण कति सम्भव छ ? फेरि एकीकरण गर्न पनि पहिले त कम्युनिस्ट पार्टीहरू आफैँ पुनर्गठित र रुपान्तरित भएर तयार हुनुपर्छ । जेन–जी आन्दोलनले समाज, राज्य व्यवस्था सँगसँगै पार्टीहरूलाई पनि पुनर्गठन गरी बदलिँदो परिवेशअनुसार सञ्चालन गर्न दिशाबोध गरेको छ ।
यतिवेला एकताको प्रसंग उठिरहँदा प्राय: कम्युनिस्ट पार्टीहरूको आन्तरिक जीवन नै कमजोर रहेको छ । यस्तो अवस्थामा अन्य कम्युनिस्ट पार्टीसँग गरिने एकता कतिको दिगो रहन्छ ? विचारणीय विषय बनेको छ । तसर्थ प्रथमत: कम्युनिस्ट पार्टीले आफूभित्रै एकताबद्व हुँदै आफूलाई पुनर्गठित गरेर यसको जगमा एकता गर्दा सार्थक हुनेछ । कम्युनिस्ट पार्टीलाई पुनर्गठन गर्नुपर्ने बहुआयामिक विषय छन् : पहिलो– विचार, सिद्धान्त र कार्यक्रम, दोस्रो– नेतृत्व, तेस्रो– संगठन संरचना, चौथो– कार्यशैली र पाँचौँ जीवनशैली ।
सिद्धान्त, विचार र कार्यक्रममा पुनर्गठन : मार्क्सवाद–लेनिनवादको सिद्धान्तको आलोकमा वैज्ञानिक समाजवादको लक्ष्यसाथ नेपालमा समाजवाद स्थापना गर्ने अधिकतम र न्यूनतम कार्यक्रमसाथ समाजवादी क्रान्तिको कार्यक्रम तय गर्नुपर्छ । अबको समाजवादी व्यवस्था श्रमजीवी वर्गको वर्चस्व र नेतृत्वमा स्थापना हुनुपर्छ । राष्ट्रिय पुँजीका माध्यमबाट उत्पादनका साधनमा सामाजिक स्वामित्व कायम हुने गरी आर्थिक सामाजिक विकास गरेर समाजवादी स्वाधीन अर्थतन्त्र निर्माण गर्नुपर्छ ।
तर, संविधान जारी भएयताको एक दशकमा संविधानले परिलक्षित गरेको दिशामा देशलाई अगाडि बढाउने गरी आर्थिक–सामाजिक रुपान्तरणका कार्यक्रम लागू भएन । वामपन्थीहरूले पनि सरकारमा जाँदा सिद्धान्तविपरीत हिजोकै नवउदारवादी अर्थनीतिलाई अवलम्बन गरेको परिणामस्वरूप मुलुकमा गरिबी, बेरोजगारी र भ्रष्टाचार भयावह अवस्थामा पुग्यो । संविधानले प्रत्याभूत गरेको शिक्षा र स्वास्थ्योपचार सेवा, स्वस्थ खानेपानी र खाद्यान्न, आवास सुविधा, सार्वजनिक यातायात सर्वसुलभ र नि:शुल्क गर्नुको सट्टामा सबै क्षेत्रमा व्यापारीकरण र निजीकरण गरिएपछि पैसा हुनेले मात्रै गुणस्तरीय सेवा र सुविधा पाउने स्थिति उत्पन्न भयो ।
राष्ट्रियताको मामिलामा कम्युनिस्टहरू देशभक्त र राष्ट्रियताका पहरेदार हुन भन्ने जुन स्कुलिङ थियोे, सत्तामा गएपछि त्यो छवि धुलिसात् भएको छ । महाकाली, कर्णाली तथा अरुण जलविद्युत् सम्झौता, एमसिसी हुँदै गैरनेपालीले भटाभट अंगीकृत र वंशजको नागरिकता पाउने प्रकरणमा गरिएको निर्णयले नेपालको राष्ट्रियतामा गम्भीर खालको चुनौती खडा गरिदिएको छ । यस्तै सत्ताकै मोहमा रमाउने चिन्तनले सशक्त वर्गसंघर्षकेन्द्रित आन्दोलनको अगुवाइ गर्न नसक्नु वामपन्थी आन्दोलनभित्रको मुख्य समस्या बनेको छ ।
तसर्थ, अब कम्युनिस्ट पार्टीको समाजवादी कार्यक्रमले राष्ट्रियतामा देखा परेका चुनौतीको दृढतापूर्वक सामना गर्दै राष्ट्रियतालाई सुदृढ गर्ने, जनताका उल्लिखित समस्या समाधान गर्ने कार्यक्रमिक प्रतिबद्धतासाथ आगामी पाँच–सात वर्षभित्रै देशमा १२–१५ लाखका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि सार्न जरुरी छ । यस्तै जनताको मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्योपचार सेवा सर्वसुलभ र नि:शुल्क हुनुपर्छ । स्वच्छ खानेपानी, सुरक्षित आवास र स्वच्छ तथा गुणस्तरीय खाद्यान्न, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता र भूमिहीनताको अन्त्य हुने गरी कृषि, उद्योग र पर्यटनको आधुनिकीकरण र व्यावसायीकरणका कार्यक्रमलाई अगाडि सार्न जरुरी छ । यस्तै शासकीय व्यवस्था र निर्वाचन प्रणालीमा सुधार, सुशासन कायम गर्न संवैधानिक अंग र न्यायालयमा सुधारका एजेन्डालाई पनि अगाडि सार्नु जरुरी छ ।
यस्तै कम्युनिस्ट पार्टीहरूले समाजवादी क्रान्ति गर्ने कार्यक्रमको आलोकमा सिंगो पार्टीलाई समाजवादी क्रान्ति गर्न सक्ने गरी सिद्धान्त, विचार र कार्यक्रममा अपडेट गर्दै सिद्धान्तअनुरूप व्यवहार गर्न सक्ने पार्टी निर्माण गर्न आवश्यक छ । पार्टीलाई आधारभूत तहका गरिब, श्रमिक, किसान, भूमिहीन सुकुम्बासी जनताबिच पुर्याउन पार्टीभित्र राजनीतिक कमिसारहरू उत्पादन गरेर गाउँघरमै परिचालन हुने गरी प्रशिक्षण, संगठन, संघर्ष र सहकारीका माध्यमबाट रोजगारी र उत्पादनवृद्वि गर्ने, श्रमदानबाट विकास निर्माण अभियान सञ्चालन गर्ने, शोषण, अनियमितता र भ्रष्टाचारविरुद्ध स्थानीय तहबाटै वर्गसंघर्षकेन्द्रित आन्दोलन सञ्चालन गर्ने गरी पार्टीलाई पुनर्गठन गरिनुपर्छ ।
संगठनमा पुनर्गठन : पार्टीलाई मार्क्सवादीकरण र क्रान्तिकारीकरण गरेर जनतासँग जोडिने गरी पार्टीका संगठन निर्माण गर्नुपर्छ । संगठनको ‘भी’ आकारको केन्द्रीकृत ढाँचालाई पुनर्संरचना गरी जनवादी अभ्यास सुनिश्चित हुने गरी जनकेन्द्रित संगठनमा रूपान्तरण गर्नुपर्छ । यस्तै जनसंगठनका संगठन पनि सोहीअनुसार पुनर्संरचना गरिनुपर्छ ।
कम्युनिस्ट पार्टीका सदस्यहरू सार्वभौम हुन्छन् भन्ने सच्चाइलाई स्थापित गर्न जरुरी छ । पार्टीले छनोट गर्ने उम्मेदवारमा सम्बन्धित निर्वाचन क्षेत्र र जिल्लाका पार्टी सदस्यले निर्णय गर्न पाउने र पार्टी केन्द्रले अनुमोदन मात्र गर्ने, पार्टीभित्र बहुपदीय संगठन संरचनाबाट सिर्जित गुटबन्दी अन्त्य गरी कमिटी प्रमुख र सदस्यहरू रहने गरी पुनर्संरचना गर्नुपर्छ । पार्टीमा अवसर र जिम्मेवारी प्रदान गर्दा वैज्ञानिक मापदण्ड लागू गर्ने, पटक–पटक उम्मेदवार र राजकीय जिम्मेवारी पाएकालाई पार्टी काममा परिचालन गरी जिम्मेवारी र अवसर नपाएका नयाँ अनुहारलाई निर्वाचनमा उम्मेदवारका रूपमा अगाडि सार्नुपर्छ । पार्टीमा नेतृत्व छनोट पनि विचार, सिद्धान्तमा स्पस्टता र कार्यक्रमिक प्रतिबद्धताका आधारमा गर्ने र मूल्यांकन कार्यसम्पादनका आधारमा गर्ने व्यवस्था हुनुपर्छ ।
नेतृत्वमा पुनर्गठन : समयको प्रवाह, माग । जनचाहनाअनुरूप नेतृत्वमा पुनर्गठन गरिनुपर्छ । जेन–जी आन्दोलनको ‘स्पिरिट’ले सबै क्षेत्रमा नयाँपनका साथ नेतृत्व गर्न घच्घच्याएको छ । कम्युनिस्ट पार्टीमा नेतृत्वमा पुनर्गठन गरिरहँदा युवाको नीति निर्माण तह र सांगठनिक काममा प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ । अहिले पहिलो पुस्ताको नेतृत्व नै नीति निर्माणको केन्द्रीय नेतृत्वमा रहेको छ र एकै व्यक्तिले नै लगातार मुख्य पदको नेतृत्व गर्दै आएको स्थिति छ । तिनले राजकीय निकायमा पनि नियमित वा पटक–पटक जिम्मेवारी पनि लिइसकेका छन् । उमेर, ज्ञान र अनुभवले धनी पहिलो पुस्ताको नेतृत्व ‘अपडेटेड’ नहुँदा पार्टीहरू गतिशील हुन सकेका छैनन् । यस्तो स्थितिमा पहिलो पुस्ताले जनचाहनाअनुरूप स्वैच्छिक हिसाबले पार्टीको कार्यकारी जिम्मेवारीबाट मुक्त भएर संरक्षक तथा सल्लाहकारको भूमिका अवलम्बन गर्दा स्वत: दोस्रो र तेस्रो पुस्ताको नेतृत्वले दैनिक सांगठनिक र कार्यकारी कामको नेतृत्व गर्ने अवसर प्राप्त गर्नेछन् । यसले पार्टीभित्र गतिशीलता र नयाँपन देखा पर्छ । यसबाट वामआन्दोलन हुँदै राष्ट्रिय राजनीतिमै पनि सकारात्मक सन्देश प्रवाह हुनेछ ।
कार्यशैलीमा पुनर्गठन : कम्युनिस्ट पार्टीभित्रको आजको मुख्य समस्या भनेको सिद्धान्त, विचार र व्यवहारबिचको भिन्नता हो । सरकारमा गएपछि सिद्धान्त, विचार र कार्यक्रमलाई बिर्सने, पुँजीवादीहरूसँग सत्ता गठबन्धनमै रमाउने खालको कार्यशैली अवलम्बन भएको छ । संसद् र सरकारमा गएपछि वर्गसंघर्षलाई बिर्सने, सडक संघर्षलाई बेवास्ता गर्ने, श्रमिक, किसान र भूमिहीन किसानका माग र आन्दोलनमा अगुवाइ नगर्ने खालका गतिविधिले कम्युनिस्ट पार्टी आधारभूत तहमा स्थापित हुन सकेका छैनन् । निर्णय प्रक्रिया, रिपोर्टिङ, अनुगमन र समीक्षा जनवादी अभ्यास कमजोर बनेको छ । कमिटीहरू ठुला भएका कारण नीति–निर्माणको तहमा जनवादी अभ्यास कमजोर छ । यसले गर्दा पार्टीले अवलम्बन गर्ने कार्यदिशा प्रभावकारी रूपमा लागू हुन सकेका छैनन् । अत: क्रान्तिकारी कार्यशैलीसाथ पार्टी सञ्चालन गर्नुपर्ने खाँचो छ ।
जीवनशैलीमा पुनर्गठन : आज वामपन्थी आन्दोलनको मुख्य समस्या भनेको सर्वहाराकृत जीवनशैली अवलम्बन गर्न नसक्नु नै हो । कम्युनिस्ट नेता–कार्यकर्ताको जीवनशैली बुर्जुवा, सामन्ती र पुँजीवादीभन्दा फरक हुनुपर्छ । तर, बहुदलयता ३०–३५ वर्षको अवधिमा कम्युनिस्टहरू सरकार तथा संसदीय मोर्चामा गएपछि रहनसहन, जीवनशैली, बोली–व्यवहार र जनसम्बन्ध फरक भएको पाइन्छ । कम्युनिस्टले के–कस्तो जीवनशैली अवलम्बन गर्ने भन्ने कुनै मापदण्ड नै बन्न सकेन । पार्टीभित्र वर्गअन्तर फराकिलो बन्दै गएको छ । कम्युनिस्ट पार्टीको आन्तरिक जीवनशैलीले बुर्जुवाकरण गरेको छ । अत: सर्वहाराकृत जीवनशैली अवलम्बन गर्ने नीति बनाएर त्यसलाई लागू गर्न आवश्यक छ ।
अन्त्यमा, बदलिँदो परिवेशमा जनचाहनाअनुरूप मुलुक, समाज र राजनीतिक दल पुनर्गठित भएर राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्ने युगीन अभिभारा छ । समाजवादी क्रान्तिको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीहरूले त झन् आफूलाई सिद्धान्त, विचार, कार्यक्रम, संगठन, नेतृत्व र कार्यशैलीमा पुनर्गठन गरेर रूपान्तरित हुँदै नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने आवश्यकता छ । जब कम्युनिस्ट पार्टीहरू पुनर्गठित भएर अपडेटेड हुन्छन्, तब उनीहरूबिच सहकार्य गर्दै अगाडि बढ्ने आधार तयार हुनेछ । अनि यहीँ सहकार्यको जगमा सिंगो कम्युनिस्ट आन्दोलनको ध्रुवीकरण, एकता र एकीकरणको आधार तयार हुने विश्वास लिन सकिन्छ ।
(खनाल नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन्)