मकवानपुरको मनहरीमा ग्यास बुलेटको ठक्करबाट स्कुटरचालकको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
गाउँपालिकाको वडा नम्बर ७ लचकास्थित पूर्व–पश्चिम राजमार्गमा चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको एनल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटरचालक सिन्धुपाल्चोक चौतारा नगरपालिका– ५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका स्कुटरचालक श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
स्कुटरमा पछाडि सवार श्रेष्ठकी २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठलाई गम्भीर चोट लागेको र हाल चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा उनीहरूको दुई वर्षका छोरा प्रविन श्रेष्ठ पनि घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको बताइएको छ।
ठक्कर दिने ग्यास बुलेटचालक भारत बिहारका ५५ वर्षीय मोहमद मतिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।