कैलालीमा धान खरिदको प्रक्रिया तत्काल सुरु गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्थानीय प्रशासनसहित सरोकारवालाले आग्रह गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा बसेको बैठकले ११ कात्तिकभित्र धान खरिद सुरु गर्न र धान खरिदको कोटा बढाउन कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको हो ।
खाद्यले कैलालीमा धान खरिद सुरु नगर्दा व्यापारीलाई सस्तो मूल्यमा बिक्री गर्नुपरेको किसानको गुनासो छ । सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा नौ सय रुपैयाँ कमसम्ममा धान खरिद–बिक्री हुन थालेपछि किसान मारमा परेका छन् । सरकारले यस वर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६२८.३३ रुपैयाँ तोकेको छ । तर, कैलालीमा मोटो धान प्रतिक्विन्टल दुई हजार ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
प्रशासनले यसअघि सूचना जारी गर्दै स्थानीय सरकारहरूलाई पनि समर्थन मूल्य कायम गराउन आग्रह गरेको थियो । खाद्यले धान खरिद सुरु गरेपछि व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन् । खाद्यले कैलालीको सत्ती, टीकापुर, जोशीपुर, भजनी, गौरीगंगा र धनगढीको मोहनपुर गरी ६ ठाउँमा डिपो राखेर धान खरिद गर्ने गरेको छ । गत शुक्रबार बसेको बैठकले किसानलाई पायक पर्ने गरी खरिद केन्द्रको संख्या बढाउन पनि खाद्यलाई आग्रह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । धानको समर्थन मूल्य कार्यान्वयन गर्न सरोकारवाला सबैलाई आग्रह गर्ने, समर्थन मूल्यअनुसार खरिद–बिक्री भए–नभएको विषयमा अनुगमन समिति गठन गरी अनुगमन गर्ने खरिद केन्द्रहरूमा स्पष्ट रूपमा मूल्यसूची राख्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले खरिद केन्द्रमा धान खरिदको तयारी भइरहेको बताए । केन्द्रले कोटा निर्धारणसहितको परिपत्र पठाएलगत्तै खरिद सुरु गरिने उनले जानकारी दिए । ‘हामीले खरिद केन्द्रहरूमा तयारी गरेका छौँ । केन्द्रबाट परिपत्र आएपछि खरिद सुरु गर्छौँ,’ उनले भने, ‘यसैको ११–१२ गतेतिरबाट खरिद सुरु होला ।’ कति मात्रामा धान खरिद गर्ने भनेर केन्द्रले कोटा निर्धारण गर्ने गरेको उनले बताए ।