हायात होटेल एक वर्षभित्र सञ्चालनमा आउने

होटेलको अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट, चैत्यहरूलगायतका संरचनामा क्षति

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परी बन्द भएको तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड (हायात रिजेन्सी) पुनः सञ्चालनमा आउन करिब एक वर्ष लाग्ने व्यवस्थापनले जनाएको छ । 

तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटेलको अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, बैंक्वेट, चैत्यहरूलगायतका संरचनामा ठुलो क्षति पुगेकाले होटेल पूर्ण रूपमा बन्द गर्नुपरेको भन्दै हायात होटेलले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ । अहिले होटेलमा भएको क्षतिको मूल्यांकन गर्ने कार्य चलिरहेको र क्षतिको पूर्ण मूल्यांकनपश्चात् स्तरोन्नति तथा पुनर्निर्माण गरेर यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने विज्ञप्तिमा उल्लेख छ । 

होटेल व्यवस्थापनले विज्ञप्ति निकाल्दै भनेको छ, ‘पछिल्ला साढे दुई दशकमा हाम्रो होटेल नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ । यस अवधिमा हामीले चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारीजस्ता चुनौतीपूर्ण अवस्थाको सामना गर्दै वर्षौँदेखि हजारौँ व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छौँ ।’ 

सरकारले हायातलाई आर्थिक वर्ष ०७९/८० मा समेत गरी सातौँपटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा र दुईपटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गर्ने होटेलका रूपमा सम्मानित गरिसकेको छ । यसरी देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको होटेलमाथि आन्दोलनका क्रममा गरिएको आक्रमण निन्दनीय रहेको व्यवस्थापनले जनाएको छ । 

सुझावित समाचार