मादक पदार्थ सेवन गरी यात्रुवाहक गाडी चलाउने सातजना पक्राउ

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारीसाधन चलाउने सातजना चालकलाई नियन्त्रणमा लिएको छ। 

रिङरोडमा चल्ने बा५ख ६८१५ नम्बरको बसचालक, बा५ ख ७९१ नम्बरको भाडा बसचालक र बागमती प्रदेश ०१-००२ ज ८५१८ नम्बरको हायसचालकलाई काठमाडौंको बाफलबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। 

त्यस्तै, बागमती प्रदेश  ०१-००६ख८९८३ नम्बरको महानगर यातायातको बसचालक र बा४ख ९३५६ नम्बरको बसचालकलाई चाबहिलबाट, बागमती प्रदेश ०१-००६ ख ५४३१ नम्बरको रात्रिकालीन बसका चालकलाई कोटेश्वरबाट र बा४ख ४१० नम्बरको माइक्रोचालकलाई ललितपुरको सातदोबाटोबाट मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारीसाधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा रहेका चालकहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

केही दिनयता उपत्यकामा ट्राफिक प्रहरीले मापसे कारबाहीमा कडाइ थालेको छ। 

सुझावित समाचार