संगीतकार गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान हुँदै

आइतबार, १० कार्तिक, २०८२
डिजिटल संस्करण

गायक तथा संगीतकार धनबहादुर (बाबुल) गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरअन्तर्गत अनुसन्धान सुरु भएको छ । गायिका नितु पौडेलको परिवारले उनीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धान सुरु गरेको हो । उनीविरुद्ध ७ कात्तिकमै पौडेलको परिवारका सदस्यले किटानी जाहेरी दिएका थिए ।

सोही दिन बिहान पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘गायिका नितु पौडेलको मृत्युपछि उनका परिवारका सदस्यले बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरअन्तर्गत जाहेरी दिएका थिए । सोही जाहेरीपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो । गिरी अहिले हाम्रै नियन्त्रणमा छन् ।’

पौडेलले गत १ कात्तिकमा अनामनगरस्थित गिरीको यम तिलक नामको स्टुडियोमा शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् । घटनामा पौडेलको कम्मरभन्दा माथिको अधिकांश भाग जलेको थियो । घटनामा गिरी पनि घाइते भएका थिए ।

दुवैलाई उद्धारपछि प्रहरीले उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगेको थियो । उपचारपछि गिरीलाई सोही दिन डिस्चार्ज गरिएको थियो । गम्भीर घाइते भएकी पौडेललाई भने सघन कक्षमा राखी उपचार गरिएको थियो । सोही क्रममा ७ कात्तिकमा उनको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरूबिच लामो समयदेखि प्रेमसम्बन्ध थियो । उनीहरूबिच विवाहका लागि समेत कुरा चलिरहेको थियो । तर, गिरीले विवाहको समय टार्दै आएका थिए ।

सुझावित समाचार