सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड मर्मत नहुँदा बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको छ । जसका कारण यात्रुहरू सधैँ मारमा पर्दै आएका छन् । सडक सञ्चालनमा आएको तीन दशकसम्म मर्मत नहुँदा सडक उपभोक्ता मारमा मात्र परेका छैनन्, ज्यान जोखिममा पार्न बाध्य छन् ।
कोशी प्रदेशको पश्चिम उदयपुर, खोटाङको पश्चिमी क्षेत्र, ओखलढुंगा र सोलुखुम्बुबासीको मुख्य सडक सिद्धिचरण लोकमार्ग हो । मधेश प्रदेशको सिराहाको मिर्चैयाबाट सुरु हुने सडकले सोलुखुम्बुसम्म जोड्छ । त्यसमा मिर्चैयादेखि कटारी बजारसम्म २६ किलोमिटर पर्छ । कटारी बजारदेखि घुर्मीसम्म ४६ किलोमिटर छ । जुन अत्याधिक जीर्ण छ ।
उक्त सडकखण्ड मर्मत नहुँदा सर्वसाधारण पीडित बनेका छन् । साबिकको सगरमाथा अञ्चलमा पर्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुलाई तराईसँग जोड्ने एक मात्र सिधा सडक सिद्धिचरण लोकमार्ग हो ।
दैनिक सयौँको संख्यामा सवारीसाधन आवतजावत गर्ने पहाडी भूगोलमा रहेको सडक एकातिर साँघुरो छ भने अर्कोतर्फ जीर्ण । कटारी नगरपालिकाको केन्द्र कटारीलाई वडा नम्बर ८, ९, १०, ११, १२, १३, १४ सँग जोड्न पनि यही सडक प्रयोग गर्नुपर्छ । यस्तै, ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका लागि पनि यो मुख्य सडक हो । पश्चिम खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासीको मुख्य सडक हो । यही सडक मर्मत नहुँदा बर्खामा हिलाम्य र हिउँदा धुलाम्य हुने गरेको कटारी नगरपालिका– ११ का पूर्ववडाध्यक्ष सरोज बुढाथोकीले बताए । उनी भन्छन्, ‘धेरैपटक सडक मर्मतका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण पनि गरायौँ, तर बनेन ।’ उनै बुढाथोकी वडाध्यक्ष हुँदा मिर्चैया–घुर्मी सिद्धिचरण लोकमार्गको मर्मतको माग गर्दै आन्दोलनसमेत भएको थियो । बुढाथोकी थप्छन्, ‘सिद्धिचरण लोकमार्ग मर्मतका लागि सहयोग समिति बनाएर तीन दिन सडक बन्द गरेका थियौँ । अनि संघीय सरकारसमक्ष डेलिकेसनमा पनि गयौँ । अहिलेका जनप्रतिनिधि पनि गइरहनुभएको छ । त्यो आन्दोलनले ०७८ मा मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालय कटारीमा स्थापना गर्यो । अनि सडकलाई दुई लेनको बनाउने भनेर डिपिआर पनि भयो । तर, अहिलेसम्म सडक बनेको छैन । अहिले १० अर्बको डिपिआर बनेको छ । कहिले सडक बन्छ थाहा छैन ।’
०३४ मा यो सडक सिराहाको मिर्चैया हुँदै उदयपुरको कटारी पुगेपछि कटारी–ओखलढुंगा बाटो निर्माण भयो । ०५८ मा सिद्धिचरण लोकमार्गका रूपमा कटारी–घुर्मी सडकमा पनि यातायात सञ्चालन भयो । त्यसवेला कटारी–घुर्मी खण्डमा कालेपत्रे पिच गरिएको थियो । त्यसपछि ओखलढुंगा हुँदै सोलुखम्बु जोडिएको हो । ०५८ पछि मर्मत भएको छैन् । सडक स्तरोन्नतिका लागि स्थानीयले वर्षौँदेखि पहल गरिरहेका छन् । सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरका सांसदले सडक मर्मतका लागि सदनमा, स्थानीयले सडकमा कुरा उठाउँदै आएका छन् । कटारी–घुर्मी सडकखण्डका सुपरभाइजर कुमार प्याकुरेल भन्छन्, ‘दुई लेनको बन्छ भन्ने सुनेको थिएँ । अहिलेसम्म बनेको छैन । अहिले कटारी–घुर्मी सडकको ४६ किलोमिटर पार गर्न साना सवारीसाधनलाई तीन घण्टा लाग्छ भने ठुलालाई ६ देखि सात घण्टा लाग्छ ।’
कटारी–घुर्मी खण्डले कटारीबाट नेपाललाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी लोकमार्ग, महेन्द्र राजमार्गलाई जोड्नुको साथै घुर्मीबाट मध्यपहाडी लोकमार्ग हुँदै बिपी राजमार्गबाट काठमाडौंलाई जोड्छ ।