नेपाल र भारतको अद्भूत छठ संगमघाट

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका, धनुषा जिल्लाको मुखियापट्टी मुसरनिया गाउँपालिका र भारतको बिहार राज्यअन्तर्गत मधुबनी जिल्लाको मधवापुरलाई जोड्ने बिगही नदीमा छठ पर्वका लागि घाट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

छठपर्वको अवसरमा निर्माण भइरहेको यो घाट तीन विभिन्न प्रशासनिक क्षेत्र नेपालका दुई जिल्ला (महोत्तरी र धनुषा) र भारतको एक जिल्ला (मधुबनी) लाई जोड्ने अद्भूत संगमस्थलका रूपमा चिनिन्छ।

उत्तरतर्फको घाट महोत्तरीको मटिहानी नगरपालिका क्षेत्रमा, उत्तर–पश्चिमतर्फको घाट धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–स्थित तुलसियाहीमा र दक्षिण–पूर्वतर्फको घाट भारतको बिहार राज्य, मधुबनी जिल्लाको मधवापुर क्षेत्रमा पर्नेछ।

परम्परागत रूपमा परापूर्व कालदेखि नै नेपाल र भारतका स्थानीय बासिन्दाहरूले यही नदी किनारमा संयुक्त रूपमा छठपर्व मनाउँदै आएका छन्। यसले दुई देश र तीन जिल्लाबिच धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीकको रूपमा काम गर्दै आएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार पुलको उत्तरी भागलाई बिगही नदी भनिन्छ भने पुलको दक्षिणी भागलाई धौस नदी भनेर चिनिन्छ। यद्यपि, यी दुवै भाग एउटै नदीका अंग हुन्, जहाँ नेपाल–भारतका भक्तजनहरू प्रत्येक वर्ष छठपर्व मनाउन एकैठाउँमा भेला हुने गर्छन्।

सुझावित समाचार