भारतीय केरालाई विस्थापित गर्दै नेपाली केरा

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

प्रायः हरेक वर्ष छठ नजिकिँदै गर्दा जलेश्वरलगायत महोत्तरीको बजारमा भारतीय केरा बिक्री-वितरणका लागि आउने गरे पनि यसपटक भने जलेश्वर भन्सारबाट एक गाडीसमेत भारतीय केरा नेपाल नभित्रिएको जलेश्वर भन्सार कार्यालयले जनाएको छ। जलेश्वर भन्सार कार्यालयका निमित्त सूचना अधिकारी नायब सुब्बा प्रदीप साहले यसपटक भारतीय नाकाबाट केरा नआएको बताए।

भारतीय केरालगायतका फलफूल नाकामा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रअन्तर्गतको क्वारेन्टाइन कार्यालयले हेर्ने गरेको र गुणस्तर जाँचपछि मात्र नेपाल भित्रिन यस कार्यालयले स्वीकृति दिने हुँदा यसपटक भने एउटै गाडीको पनि स्वीकृति नआएको उनले बताए।

यता जलेश्वर, रामगोपालपुर र गौशालालगायतको बजारमा नेपालकै त्रिवेणी, विर्तामोड र भन्टाबारी र निजगढबाट आएको केराले बजार भरिभराउ छ। नेपालमै केराको राम्रो उत्पादन हुन थालेको र गुणस्तर पनि भारतको भन्दा राम्रो भएपछि आफ्नै उत्पादनलाई व्यापारीहरुले समेत प्रोत्साहन गर्न थालेका छन्। भारतमा अहिले केरा नेपालभन्दा महँगो रहेको र गुणस्तरसमेत नेपालमा जस्तो नभएकोले बजारमा अहिले नेपाली केराकै माग रहेको व्यापारीहरूको भनाइ छ। 

See More On

सुझावित समाचार