भारतीय केरालाई विस्थापित गर्दै नेपाली केरा

शुक्रबार, ७ कार्तिक, २०८२
डिजिटल संस्करण

हरेक वर्ष छठ पर्व नजिकिँदै गर्दा जलेश्वरसहित महोत्तरीका बजारहरूमा भारतबाट केरा बिक्री-वितरणका लागि आउने गर्थ्यो। तर, यस वर्ष भने जलेश्वर भन्सार नाकाबाट एक गाडी पनि केरा नआएको जलेश्वर भन्सार कार्यालयले जनाएको छ।

भन्सारका सूचना अधिकारी नायब सुव्बा प्रदीप साहका अनुसार यसपटक भारतीय केरा भित्रिएको छैन। उनले भारतीय फलफूल र तरकारीको गुणस्तर जाँच्ने जिम्मेवारी क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रअन्तर्गतको क्वारेन्टाइन कार्यालयको हुने बताए। गुणस्तर परीक्षणपछि मात्र आयात अनुमति दिइने प्रावधान रहेकाले यस वर्ष एउटै गाडीको पनि स्वीकृति नदिइएको उनले जानकारी दिए।

भारतमा केरालगायतका फलफूल र तरकारीमा अत्यधिक विषादी प्रयोग हुने भएकाले विषादीयुक्त वस्तु आयात गर्न कठिन भएको र सोही कारण यसपटक भारतबाट केरा नआएको हुन सक्ने उनले बताए।

यसबिच जलेश्वर, रामगोपालपुर र गौशालालगायतका बजारहरूमा नेपालकै त्रिवेणी, बिर्तामोड, भन्टाबारी र निजगढबाट ल्याइएका केराले बजार भरिएको छ। नेपाली केराको गुणस्तर राम्रो र भारतको भन्दा किफायती मूल्य भएकाले यसको माग बढेको व्यापारीहरूको भनाइ छ। अहिले बजारमा केरा घरीको मूल्य पाँच सयदेखि एक हजारसम्ममा बिक्री भइरहेको छ।

महोत्तरीकै माँ वैष्णो देवी कृषि फर्मका सञ्चालक रामध्यान मण्डलका अनुसार यस वर्षको अविरल वर्षा र बाढीका कारण केरा बोट भाँचिँदा ठुलो क्षति भएको छ। उनका अनुसार अघिल्ला वर्षहरूमा फर्मबाट महोत्तरीका विभिन्न बजारमा पर्याप्त आपूर्ति भए पनि यस वर्ष क्षतिका कारण दुई पिकअप मात्र बजार पठाइएको छ।

महोत्तरीको माटो केरा खेतीका लागि अत्यन्त उपयुक्त भए पनि प्रत्येक वर्षको बाढी र वर्षाले किसानहरू ठुलो परिमाणमा खेती गर्न हिच्किचाइरहेका छन्। मण्डल करिब तीन बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन्।

सुझावित समाचार