तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बलि, गोरु, हली एवं कृषकको पूजाआजा गरी मनाइएको छ ।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजाआजा गर्ने गरिएको छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।
कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए। भगवान् विष्णुको आज्ञाअनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मर्त्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ। दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र देऊ शिर रे भनी देउसी खेल्ने परम्पराको सुरवात गरेको विश्वास छ। यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ।
प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्त्वपूर्ण योगदान गर्दै आएको छ। महादेवको वाहनका रूपमा समेत पूजिने गोरु (साँढे) लाई आज पूजा गरी मिठामिठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ। यसैगरी, गोरु जोत्ने हलीलाई पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मिठा कुरा खान दिइन्छ। यसैले, आजको दिनलाई हलतिहार पनि भनिन्छ।