नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा छानी-छानी व्यक्तिका घर जलाउने र लुट्ने काम भएको बताएका छन्।
जेन-जी आन्दोलनका नाममा आगजनी र लुटपाट गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गर्दै ओलीले एक/दुईजनाले उचाल्नसमेत नसक्ने मूर्तिहरू लुटेर लगिएको बताए। आफ्नो घरमा थुप्रै उपहार प्राप्त चिजहरू रहेका र ती पनि चोरेर लगिएको उनले बताए। ‘खास आपराधिक समूहले यस कुरामा उद्योग गरिरहेको थियो, सकेका थिएनन्, यो प्रयास धेरैअगाडिदेखि थियो,’ उनले भने।
एमालेका नेता-कार्यकर्ताको घर देशैभरि जलाइएको बताउँदै ओलीले त्यसका लागि पहिलादेखि नै तयारी भएको बताए। पहिला पनि सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउन आह्वान गरिएको र यसपटक उनीहरूको योजना सफल भएको ओलीले बताए। ‘यो नेपालका विरुद्ध भयानक षड्यन्त्र थियो,’ उनले भने।