नेपाली कांग्रेसले प्यालेस्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज शोक विज्ञप्तिमार्फत जोशीको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि अध्ययनका लागि इजरायल गएका थिए।
उनी सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएपछि त्यसयता उनको सकुशल रिहाइका लागि नेपाल सरकार, अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकारवादी संघ–संस्थाले निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो । उनका परिवारले समेत सक्रिय प्रयास जारी राखेको थियो ।
जोशीको पार्थिव शरीरको आज महाकाली नदीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।