सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाइएमा कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासो आएपछि उनले किसानहरूले धानको समर्थन मूल्य पाए–नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । उनले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी अनुगमन गर्न निर्देशन दिए ।
उनले सरकारले तोकेको समर्थन मूल्य व्यापारीहरूले कार्यान्वयन नगरेको पाइएमा कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । मुख्यमन्त्री शाहले सरकारले निर्धारण गरेको धानको मूल्य किसानले पाउनुपर्नेमा जोड दिए । यसअघि ०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक सूचनामार्फत मोटो धानको मूल्य प्रतिक्विन्टल रु. तीन हजार ४६३.८१ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु. तीन हजार ६२८.३३ निर्धारण गरिएको जानकारी गराएका थिए ।
साथै उनले सूचनामा सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद–बिक्री गर्न र सरकारको निर्णय कार्यान्वयन गराउन सबै पालिकालाई आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी लम्सालले छठलगत्तै कैलालीका सबै स्थानीय तहहरूमा अनुगमन गर्ने बताएका थिए ।