दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन जोशीको आज अन्तिम दाहसंस्कार गरिने भएको छ । उनको महाकाली नदीमा अन्तिम संस्कार गरिनेछ । सोमबार बेलुकी अर्थात् लक्ष्मीपूजाको साँझ उनको शव कञ्चनपुरको भीमदत्त नगरपालिका- ३ मा रहेको निवासमा पुर्याइएको थियो ।
इजरायलबाट काठमाडौं ल्याइएको शव त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत घरमा ल्याइएको हो । धनगढी उपमहानगरपालिकाको महाप्रस्थान वाहकमार्फत घरमा शव ल्याएको छ । यस वर्षको दीपावली अर्थात् लक्ष्मीपूजाकै दिन विपिनको शव घर पुगेसँगै गाउँटोल शोकमय भएको छ ।
विपिनको मृत्यु भएको जानकारी हमास समूहले २६ असोजमा सार्वजनिक गरेको थियो । त्यसै साँझ गाजाबाट इजरायलले शव तेलअभिभ ल्याएको थियो । मंगलबार डिएनए परीक्षणमा उक्त शव विपिनकै भएको पुष्टि गरिएको थियो । परीक्षण र पोस्टमार्टम दुवै तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा सम्पन्न भएको हो ।
०८० असोज २३ देखि हमासको कब्जामा रहेका विपिनको मृत्यु मंसिरतिरै भएको नेपाली अधिकारीलाई इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन् । दुई वर्षअघि नै इजरायलले लिएको परिवारको डिएनए परीक्षणका आधारमा शवको डिएनए परीक्षण गर्दा विपिनको शव पुष्टि भएको थियो ।
विपिन जोशीका दाजु किशोर जोशीले परिवारमा अनपेक्षित घटना घटेको बताए । ‘हमास समूहको नियन्त्रणमा रहेका भाइको कसरी के कारणले मृत्यु भयो ?’ उनले भने, ‘दुई देशबिचको द्वन्द्वमा असंलग्न अर्को मुलुक त्यही पनि नेपाली नागरिकको हत्या कसरी र किन भयो ?’ भाइको रिहाइका लागि स्वदेश मात्रै होइन विदेशमा हारगुहार गर्दासमेत परिमाण उल्टो आएको भन्दै आफ्नो परिवारका लागि यो अत्यन्तै दुःखद घटना भएको बताए । ‘सास पाउने आसैआसमा थियौँ, तर लास पाइयो,’ उनले भने, ‘रातभर घरमा शव कुर्छौँ, मंगलबार बिहानै महाकाली नदीमा दाहसंस्कार गर्छौँ ।’
दुई वर्षअघि जीवित रहेका भाइको पार्थिव शरीर घरमा पुग्ने दिन आफूहरूका लागि कहिल्यै नमेटिने घाउ बनेको उनले दुःखेसो पोखे । २५ वर्षीय विपिन जोशीलाई गुमाएसँगै घर परिवार, आफन्त, साथीभाइ र छरछिमेकी शोकाकुल भएका छन् ।