मुक्तिनाथमा राखिने ३५ फिट अग्लो विष्णु मूर्ति तयार हुँदै

सोमबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु भगवानको मूर्ति निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ।
मूर्ति निर्माणको काम चालिस प्रतिशत सकिएको निर्माण कम्पनी अरनिको स्टोन कार्भिङका धर्मराज शाक्यले जानकारी दिए। यो मूर्ति निर्माण सम्पन्न भएपछि नेपालकै सबैभन्दा ठुलो विष्णु मूर्ति बन्नेछ।

यो परियोजना तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ मा सुरु गरेकी थिइन्।  मूर्ति निर्माणका लागि शेष घले दम्पतीले ३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। अर्को वर्षसम्म मूर्ति निर्माणको काम सम्पन्न हुनेछ।

यो मूर्ति मुक्तिनाथ मन्दिर र सोनाम लामाले निर्माण गरेको बुद्ध मूर्तिको बिचमा रहनेछ। दुवै मूर्तिबिचको दूरी करिब दुई सय फिट छ। समुद्र सतहबाट ३,७१० मिटर उचाइमा रहेको यो स्थानबाट चारैतिर हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

सोनाम लामा र शेष घलेले यो परियोजनाको नेतृत्व गरिरहेका छन्। लामाले यसअघि नै मुक्तिनाथमा करिब ६ करोड रुपैयाँको लगानीमा बुद्ध मूर्ति स्थापना गरिसकेका छन्। ‘हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा थलो मुक्तिनाथको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्वलाई थप उजागर गर्न विष्णु मूर्ति निर्माणको पहल गरेका हौँ,’ लामाले भने।
विष्णु मूर्ति निर्माणका लागि आवश्यक ढुंगा चोभारबाट ल्याइएको छ। यसअघि स्थापना भएको बुद्ध मूर्तिमा पनि चोभारकै ढुंगा प्रयोग गरिएको थियो। मूर्ति निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा २० जनाभन्दा बढी कालिगढ संलग्न छन्। ३५ फिट अग्लो यो मूर्ति निर्माण सम्पन्न भएपछि मुक्तिनाथको धार्मिक र पर्यटकीय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।

मूर्ति स्थापनाका लागि मुक्तिनाथ विकास समितिले पनि सहयोग गरिरहेको लामाले बताए। मूर्ति स्थापनाका लागि भनेर गाउँपालिकाले समेत वडाध्यक्ष र स्थानीयहरूसँग छलफल गरिरहेको लामाले सुनाए। समग्र परियोजना सम्पन्न गर्न करिब ९ करोड लाग्ने अनुमान गरिएको छ।

मुक्तिनाथ विकास गुरु योजनाअन्तर्गत परम्परागत धार्मिक संरचनाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले यो परियोजना अगाडि बढाइएको हो। हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिने मुक्तिनाथमा विश्वभरका पर्यटक र तीर्थयात्रीहरू आउने गर्छन्। विष्णु मूर्तिको स्थापनाले मुक्तिनाथको धार्मिक र पर्यटकीय महत्त्वलाई थप उजागर गर्ने उद्देश्यले यो परियोजना सुरु गरिएको घलेको भनाइ छ। यो परियोजनाले मुस्ताङको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने घले दम्पतीको विश्वास छ।

सुझावित समाचार