तिहारका सदाबहार गीत

दशकौँ पुराना केही तिहार गीत छन्, जुन गुन्जिन थालेपछि तिहारको उल्लास झन् बढाउँछ

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

घरघरमा झिलिमिली बत्तीको उज्यालोसँगै जब देउसी–भैलो गुन्जन थाल्छ, तिहारको उल्लास छाउँछ । तिहार चाड संगीतसँग अभिन्न रूपमा जोडिएकैले हुनुपर्छ, यही चाडलाई लक्षित गरेर सर्जकहरूले कैयौँ गीत रचेका छन् । हरेक वर्ष तिहारलक्षित नयाँ–नयाँ गीतहरू सार्वजनिक हुन्छन् । तर, दशकौँ पुराना केही तिहार गीत छन्, जुन गुन्जिन थालेपछि तिहारको उल्लास झन् बढाउँछ । कहिल्यै नबिच्छिने सदाबहार तिहार गीतले नेपाली संस्कृति र उत्सवको आत्मालाई जीवित राख्न मद्दत गर्दै आएका छन् । 

‘निधारमा लर्काएर सप्तरंगी टीको...’ (०४७)
‘निधारमा लर्काएर सप्तरंगी टीको...’ । यो हरफ घन्किन थालेपछि हरनेपालीको दिल, मस्तिष्कमा तिहार जाग्छ । राजेन्द्र शलभ निर्देशित चलचित्र ‘विजय–पराजय’का लागि गीतकार दिनेश अधिकारीले लेखेको यो गीतमा संगीतकार शम्भुजित बाँस्कोटाले संगीत भरेका हुन् । बलिउड पाश्र्वगायिका हेमलताको स्वरमा रेकर्ड गरिएको यो गीत यसरी अगाडि बढ्छ– 

निधारमा लर्काएर सप्तरंगी टीको,
हिँडिरहु सधैँ तिमी शिखरको बाटो,
ओखरमा फोरिदिएँ बाधाहरू मैले...
जता पनि पुग दाजै घामभन्दा पहिले....

दिदीबहिनी र दाजुभाइबिचको सम्बन्ध यो गीतमा अभिव्यक्त भएको छ । तिहार आफैँमा दिदीबहिनी र दाजुभाइबिचको प्रेम, सद्भाव र मायाको चाड हो । गीतकार अधिकारीले सम्झिँदै भने, ‘यो गीत मैले ०४६ भदौमा लेखेको हुँ । त्यसको रेकर्डिङ ०४६ कात्तिकमा मुम्बईमा भयो । यसअघि मैले कुनै फिचर फिल्मका लागि गीत लेखेको थिइनँ, यही मेरो पहिलो फिल्मी गीत हो ।’ आफूले तिहारको सांस्कृतिक पक्षलाई गीतमा समेटेको र संगीतकार बाँस्कोटाको संगीतले त्यसमा मिठास थपेको उनी बताउँछन् । 

‘तिहारै आयो लौ झिलिमिली...’ (०५४)
शम्भु प्रधानको निर्देशनमा बनेको फिल्म ‘स्वर्ग’मा समावेश यो गीतले पनि झन्डै तीन दशकयता हरेक वर्ष नेपालीका घरघरमा तिहारको उमंग भर्न भूमिका खेल्दै आएको छ । ०५४ मा रिलिज भएको ‘स्वर्ग’का लागि यादव खरेलले यो गीत लेखेका हुन्, संगीत शम्भुजित बाँस्कोटाले नै भरेका हुन् भने स्वर लोचन भट्टराई र नूतन प्रधानले दिएका हुन् । 

‘तिहारै आयो, लौ झिलिमिली...’ भन्ने पहिलो पंक्तिले नै नेपाली घरआँगनको उत्सवमय दृश्य देखाउँछ । नेपाली समाजको संस्कार, सम्बन्ध र भावना मिसिएको एउटा मिठो यथार्थ छ गीतमा । गीतले तिहारको रौनकता, भावनात्मक रंग तथा पारिवारिक एकताको सौन्दर्य प्रस्तुत गर्छ । 

‘ए हजुर, यसपालिको तिहारै रमाइलो...’ (०७१)
आकाश अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘कोहिनुर’मा समावेश यो गीत सुन्दर श्रेष्ठको शब्द, शम्भुजित बाँस्कोटाको संगीत तथा प्रमोद खरेल र अञ्जु पन्तको स्वरमा छ । 

संगीतकार बाँस्कोटा ‘निधारमा लर्काएर सप्तरंगी टीका’, ‘तिहारै आयो लौ झिलिमिली’ र ‘ए हजुर, यसपालिको तिहारै रमाइलो’ गीतमा चलचित्रको कथाले मागेअनुसार संगीत सिर्जना गरेको बताउँछन् । 

‘मैले यी तीन गीतका लागि चलचित्रको कथावरिपरि बसेर संगीत तयार पारेको हुँ,’ उनले सम्झिए, ‘मैले दुईवटा गीत मुम्बईमा गएर रेकर्ड गरेको हुँ, ‘गीत मिठो बन्न शब्द र संगीत दुवै बलियो हुनुपर्छ । यी गीतको संगीत सिर्जना गर्दा स्क्रिप्ट लेख्नेजत्तिकै मिहिनेत गरेको थिएँ ।’

दियो बाली साँझको...(०४८)
‘दियो बाली साँझको, फूल सजाई पूजाको...’ । यो गीतमा तिहारको पूजाआजा, दियोको उज्यालो र परिवारबिचको प्रेमपूर्ण बन्धनलाई चित्रण गरिएको छ । तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘चिनो’ (०४८) मा यो गीत समावेश छ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वरमा रेकर्ड गरिएको यो गीतले तिहारलाई उज्यालो र मनको शुद्धताको बयान गर्छ । झन्डै चार दशक पुरानो भए पनि हरेक तिहारमा रेडियोदेखि टेलिभिजनसम्म यो गीत घन्किरहन्छ । 

जोर मादल बजाउँदै घर–आँगनमा, झिलिमिली बनाऊँ आफ्नै गाउँमा...(०४७)
शम्भु राईको यो गीतले तिहारलाई सम्बन्ध, सम्झना, भावना र संस्कृतिको उत्सवका रूपमा अभिव्यक्त गरेको छ । संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति शम्भु राईले तिहारका पुराना गीतलाई सांस्कृतिक परम्पराको शब्द, संगीत र स्वरको सन्तुलनले सदाबहार बनेको बताए । उनका अनुसार देउसी–भैलो केवल मनोरञ्जनका लागि मात्र होइन, संस्कृतिको संरक्षणका लागि पनि हो ।

‘मैले पनि तिहारको गीत बनाएको छु । जुन आजभोलि पनि गाउँघरमा निकै गुन्जिन्छ । यो गीतमा फरक शैली भए पनि यसको आत्मा नेपाली संस्कृति नै हो,’ उनले गीत रेकर्ड गर्दाको अवस्था स्मरण गरे । ०४७ मा पहिलोपटक रेकर्ड गरी क्यासेट निकालेँ, जुन निकै लोकप्रिय भयो । ०६५ मा भिडियो संस्करण पनि ल्याएको हो ।’ 

‘हाँसेर बोल बहिनी तिहारको वेलैमा...’ (०५७)
तिहारको आगमनसँगै नेपाली घरघरमा गुन्जिने अर्काे गीत हो, ‘हाँसेर बोल बहिनी तिहारको वेलैमा...’ । अनिल संग्रौलाको निर्देशनमा बनेको फिल्म ‘माइती’मा यो गीत समावेश छ । गीतले दाजु–बहिनीको भावनात्मक पाटोलाई वर्णन गरेको छ । दाजु–बहिनीबिचको मायालु सम्बन्ध, मिलन र विछोडको भावलाई उतारेको छ । नगेन्द्र श्रेष्ठको शब्द रहेको यो फिल्मी गीतमा दिवंगत श्रीकृष्ण श्रेष्ठ, निरुता सिंह र नगेन्द्र श्रेष्ठ स्वयंको अभिनय छ । 

‘सिमल बारुलै...’ 
‘सिमल बारुलै...’ तिहारको रमझम सुरु हुनेबित्तिकै गाउँदेखि सहरसम्म गुन्जिने चर्चित गीत हो । म्युजिक नेपाल युटुब च्यानलमा ११ वर्षअघि सार्वजनिक भएको गीत पछिल्ला वर्षहरूमा तिहारको पर्यायझैँ बनेको छ । यो गीतमा नवीन खड्का, पुस्तका खड्का, एमी खड्का, बलराम समाल, अञ्जना गुरुङलगायतको स्वर छ । शिलाबहादुर मोक्तानले संगीत भरेको यो गीतको संकलन नवामी खड्काले गरेका हुन् । गीतमा देउसी खेल्न आउनेहरूको घर प्रवेशदेखि बिदा हुने क्षणसम्मका सबै भाव समेटिएको छ । गीतको पूर्वेली भाका र बोलले श्रोतालाई घर–आँगन, खेत–पाखा र देउसीका परिवेशमा पुर्‍याउँछ । त्यसैले त कैयौँ वर्षदेखि ‘सिमल बारुलै’ तिहारमा सबैभन्दा बढी बज्ने देउसी गीतको सूचीमा पर्छ ।

‘वर्षमा दिनमा लै–लै...’ (०६८)
तिहारको अर्काे लोकप्रिय गीत हो, ‘वर्षमा दिनैमा लै–लै...’ । सुगम पोखरेलले स्वर दिएको यो गीत पछिल्ला वर्षहरूमा दसैँ र तिहारमा धेरै बज्ने गर्छ । दसैँ–तिहार दुवै पर्वलाई समेटेको योग गीत रवि श्रेष्ठले लेखेका हुन् । 

त्यस्तै, तुलसी घिमिरे निर्देशित फिल्म ‘अन्याय’मा पनि तिहारसम्बन्धी गीत समावेश गरिएको छ । ‘अधरमा आज उनकै छ गीत’ गीतमा रत्नशमशेर थापाको शब्द, रञ्जित गजमेरको संगीत र मनिला सोताङको स्वर छ । 

प्रा.डा. सोमप्रसाद खतिवडा भन्छन्– गीतले संस्कृति जोगाउने मात्र होइन, समाजमा एकताको सन्देश पनि फैलाउँछ

संस्कृतिविद् प्रा.डा. सोमप्रसाद खतिवडा तिहार पर्व नेपाली संस्कृति र सामाजिक एकताको आत्मा रहेको बताउँछन् । उनका अनुसार तिहारमा गाइने देउसी–भैलोका गीतले नेपाली मौलिक संस्कृति जोगाउन र संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । 

‘हाम्रा लोकगीत र लोकनृत्यले पुरानो संस्कृति झल्काउँछन् । तिहारका गीत र नृत्यमा हाम्रो कृषिजन्य जीवनशैली, आध्यात्मिक भावना र सामाजिक सम्बन्धको गहिरो अभिव्यक्ति पाइन्छ,’ उनी भन्छन्, ‘दसैँ र तिहार हाम्रो समाज कृषि र पशुपालनमा प्रवेश गरेपछि सुरु भएका पर्व हुन् । पुर्खाहरूको जीवन पशुपालन र कृषिसँग गाँसिएको थियो । पुर्खाहरूले आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्नका लागि यस्ता पर्वहरू सुरु गरे ।’ 

उनका अनुसार भैलो महिलाले खेल्ने र देउसी पुरुषहरूले खेल्ने परम्परागत अभ्यास छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै टीका लगाएर तिहार बिदा गरिन्छ । तिहारका गीतहरू पनि यस्तै गतिविधिमा सम्बन्धित छन् । उनी भन्छन्, ‘देउसीमा आशिष दिने र समाजलाई सन्देश दिने परम्परा छ । यी गीतले संस्कृतिलाई जोगाउन मात्र होइन, समाजमा एकताको सन्देश पनि फैलाउँछन् । तिहार वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण पर्व हो । नेपाल बहुभाषिक र बहुसांस्कृतिक समाज हो । यहाँ परापूर्वकालदेखि एक–अर्काको संस्कृतिलाई अवलम्बन गरेर मिलिजुली बस्ने परम्परा छ । यही नै हाम्रो मूल विशेषता हो । त्यसैले तिहार सामाजिक सन्देश, आपसी सद्भाव र सांस्कृतिक निरन्तरताको प्रतीक हो ।’ 

See More On

सुझावित समाचार