फरक क्षमता भएका तथा ज्येष्ठ नागरिकलाई हवाई यात्रामा छुट

सोमबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

वायुसेवा सञ्चालक कम्पनीहरूले ज्येष्ठ नागरिकलाई हवाई उडानमा छुट दिने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक कम्पनीहरूबिच यस्तो सहमति भएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले वायुसेवा कम्पनीहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्नका लागि गरिएको आग्रहअनुसार सहमति भएको बताए । उनले भने, ‘वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने महसुस भएकाले उहाँहरूलाई आग्रह गरिएको थियो । यसबापत लाग्ने खर्चमा सरकारले अतिरिक्त शोधभर्ना वा अनुदान दिँदैन । सोहीअनुसार उहाँहरू पनि छुट दिन तयार हुनुभएकाले यो कार्यान्वयनमा ल्याइएको हो ।’

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरूका प्रतिनिधिहरूबिच सम्पन्न बैठक बसेको थियो । ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण क्षेत्रमा ५० प्रतिशत छुट प्रदान गर्ने उल्लेख छ । ७५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत छुट साथै ८० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने उल्लेख छ ।

जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरूको सन्दर्भमा समेत न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुने गरी व्यवस्था गरेको छ । 

त्यसबाहेक चाडबाडको समयलाई लक्षित गरेर १ कात्तिकदेखि एयरलाइन्स कम्पनीहरूले छुटका योजनाहरू लागू गरेका छन् । बुद्ध एयरले कनेक्ट आइपिएसबाट हुने टिकट खरिद भुक्तानीमा एक सय एक रुपैयाँ छुट तथा पाँच जोडीलाई माउन्टेन फ्लाइटको टिकट दिने योजना सार्वजनिक गरेको छ । 

त्यस्तै, यती एयरलाइन्सले कनेक्ट आइपिएसबाट खरिद हुने टिकटमा तीन सय रुपैयाँसम्मको छुट दिने योजना ल्याएको छ । यसमा १० जोडीलाई माउन्टेन फ्लाइटको टिकट पनि उपहार दिने योजना ल्याएको छ ।

बुद्धको काठमाडौं–कोलकाता हवाईमार्गमा नयाँ उडान सुरु
नेपाल र भारतबिचको हवाई सम्पर्कमा नयाँ अध्याय थपिएको छ । बुद्ध एयरले कोलकाता–काठमाडौं हवाईमार्गमा नियमित उडान सुरु गरेको छ । आइतबारबाट यो उडान सुरु भएको हो । 

कोलकाता विमानस्थलमा आयोजित विशेष कार्यक्रममा नेपालका पश्चिम बंगालका लागि महावाणिज्यदूत झक्कप्रसाद आचार्यले पहिलो उडानको उद्घाटन गरे । उद्घाटन समारोहमा नेपालका वाणिज्यदूतावासका अधिकारी र एयरलाइन्सका प्रतिनिधि उपस्थित थिए ।

यस अवसरमा वक्ताले यो नयाँ उडानले पर्यटक, व्यापारी तथा दुई देशका नागरिकबिचको आवागमन सहज बनाउने बताए । एयरलाइन्सले यस मार्गमार्फत यात्रुलाई उत्कृष्ट सेवा र सहज यात्राको अनुभव दिने प्रतिबद्धता जनाएको छ ।

सुझावित समाचार