एकपटक एउटा रेलमा बाबुछोरा यात्रारत थिए । छोराको उमेर करिब २४ वर्षजति हुँदो हो । बाबुचाहिँ झ्यालपट्टिको सिटमा बसिरहेको समयमा छोराले आफू झ्यालपट्टि बस्ने जिद्दी गरे । बाबुले पनि खुसीसाथ छोरालाई झ्यालपट्टिको सिट छाडिदिए र आफू अर्कोपट्टि सरे । रेलमा अरू पनि धेरै यात्रु थिए । रेल चल्न सुरु गर्यो । त्यसपछि बडो उत्सुकताले छोरा चिच्याउन थाले । बाबा, हेर्नुहोस् त नदी, पुल, रुख सबै पछाडिपछाडि कुदिरहेका छन् । बादल पनि पछिपछि गइरहेको छ । छोराको उत्साहमा साथ दिँदै बाबुले पनि उसको हो मा हो मिलाइरहेका थिए ।
युवकको यस्तो हर्कत देख्दा त्यहाँ बसिरहेका अन्य यात्रु हैरान भइरहेका थिए । उनीहरूले सायद युवकमा दिमागी समस्या रहेको र त्यसकै कारण उनले यस्तो असामान्य व्यवहार देखाइरहेको अनुमान गरे । युवकले निकै लामो समयसम्म यस्तै अनौठो व्यवहार देखाइरह्यो । उसको हर्कतलाई नजिकबाट नियालिरहेका एक सज्जनले ती युवकका पितासित भने– तपाईंका छोरामा अलिक समस्या छ जस्तो छ, डाक्टरकहाँ किन लानुहुन्न तपाईं ? राम्रो अस्पताल लगेर राम्रा डाक्टरलाई एकपटक देखाउनुहोस् न ! किनकि, उसको कुनै पनि व्यवहार सामान्य छैन । सायद उसमा कुनै दिमागी समस्या हुन सक्छ ।
ती सज्जनको सल्लाह सुनिसकेपछि केही मन्द मुस्कानसाथ पिताले जवाफ दिए– हो, तपाईंले ठिक भन्नुभयो । मैले उसलाई भर्खरै डाक्टरकहाँ लगेर ल्याउँदै छु । पिताको भनाइ सुन्दा ती सज्जन थप चकित भए । पिताले अगाडि भने– मेरो छोरो जन्मजात दृष्टिविहीन थियो । केही दिनअघि मात्र उसको आँखाको शल्यक्रिया सम्पन्न भयो । आजै उसलाई अस्पतालबाट निकालिएको हो । उसले जीवनमै आज पहिलोपटक यी सारा दृश्य देखिरहेको छ, जसको बयान सानो बच्चाले जस्तै यहाँ गरिरहेको छ । उसलाई हरेक वस्तु, दृश्य, चिजबिज बिल्कुलै नयाँ लागिरहेका छन् । पिताको भनाइ सुनिसकेपछि ती सज्जनलाई आफूले वास्तविकता बुझ्दै नबुझी गलत सल्लाह दिएकोमा गल्ती महसुस भयो । उनले ती पितासित माफी मागे ।