२४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा बर्दी उतारेर प्रहरीमाथि सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
बर्दी खोल्न लगाई प्रहरीमाथि बागमती खोलामा सांघातिक आक्रमण गरेको अभियोगमा प्रहरीले दोलखाको शैलुङ गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– ३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङलाई पक्राउ गरेको हो।
प्रहरी वृत्त नयाँ बानेश्वरसहित विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनीमा संलग्न घिसिङ प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाटसमेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा आठ दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको छ।
घिसिङ २०७९ असोज ४ र २०७९ फागुन १० गते प्रहरी वृत्त गौशालामा बैंकिङ कसुरमा मुद्दा दर्ता भइ फरार रहेको देखिएको प्रहरीले जनाएको छ।