सल्यानबाट चार महिनामा १५ करोडको तरकारी तथा फलफूल निर्यात

आइतबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

सल्यानबाट चार महिनामा १५ करोड रुपैयाँ बढीको तरकारी तथा फलफूल निकासी भएको छ। कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अनुसार ४२ लाख २७ हजार ५२५ किलो ताजा तरकारी तथा फलफूलबाट १५ करोड २७ लाख २४ हजार ७९० रुपैयाँ किसानले हात पारेका छन्।

२०८२ जेठदेखि भदौसम्म ४२ लाख ७ हजार ८ सय किलो ताजा तरकारी, ३ हजार २ सय किलो अदुवा र १६ हजार ५२५ किलो फलफूल जिल्लाबाहिर निर्यात भएको कृषि उपज सञ्चालक समिति कपुरकोट सल्यानका अध्यक्ष तिलक शर्माले जानकारी दिए।

शर्माका अनुसार कपुरकोटसहित विभिन्न सहायक २७ हाट बजारबाट तरकारी व्यापारीले सिधै लिने भएकाले असोज महिनाको तथ्यांक संकलनको काम भइरहेको छ। बेमौसमी तरकारी खेतीका लागि कपुरकोट प्रख्यात मानिन्छ।

यहाँबाट दाङ, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, धनगढी र काठमाडौंसम्म ताजा तरकारी तथा फलफूल जाने गर्छ। वर्षा राम्रो हुँदा सल्यानका तरकारी भारतसम्म पनि पुग्ने गरेको कृषि उपज सञ्चालक समितिका व्यवस्थापक चन्द्रमणि खड्काको भनाइ छ।
 

सुझावित समाचार