कैलालीमा स्थानीय प्रशासनले राति १० बजेपछि व्यापार, व्यवसाय बन्द गर्न निर्देशन जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै सबै किसिमका होटेल, व्यवसाय, डान्सबार, दोहोरी साँझलगायत मनोरञ्जनसम्बन्धी व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न भनेको हो।
देशको पछिल्लो परिस्थिति र जिल्लाको हालको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक सुरक्षा, सुव्यवस्था र मर्यादा कायम राख्न यस्तो निर्देशन जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताएका छन्। राति १० बजेपछि व्यापार–व्यवसाय खुला राखेको पाइए कानुनी कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ।
गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका करिब पौने तीन सय कैदीबन्दी कारागार फर्किएका छैनन्। ठुलो संख्यामा कैदीबन्दी फरार भएकाले सुरक्षा चुनौती रहेको सुरक्षा अधिकारीहरूको आकलन छ।
जेन–जी आन्दोलनमा कैलालीमा ठुलो क्षति भएको थियो। धनगढीस्थित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशका मन्त्रालयलगायत अधिकांश सरकारी कार्यालयमा आगजनी गरिएको थियो। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा पनि आगजनी गरेका थिए।