तिहारको शुभकामना आदान–प्रदान कार्यक्रममा जेन–जी युवाको आक्रमण, लखेटिए चौदण्डीगढी नगरपालिकाका मेयर, उपमेयरलगायतका जनप्रतिनिधि

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर र उपमेयरलगायतका जनप्रतिनिधिमाथि जेन–जी युवा समूहले आक्रमण गरेकाे छ । तिहारको अवसरमा चौदण्डीगढी नगरपालिका– १० हडिया बजारमा आयोजना गरिएको चियापान तथा शुभकामना कार्यक्रममा आक्रमण गरिएको हो ।

आज आइतबार बिहान चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ र १० ले आयोजना गरेको कार्यक्रममा जेन–जीको आक्रमणपछि मेयर कालुमान लामा र उपमेयर मणिकादेवी दुलाललगायतका जनप्रतिनिधिहरू लखेटिएका हुन् । 

शुभकामना आदान–प्रदान कार्यक्रम सुरु हुँदै गर्दा जेन–जी युवाहरूको टोलीले कार्यक्रम स्थलमा आक्रमण गरेको थियो । एक स्थानीयका अनुसार जेन–जी युवाहरूले भ्रष्ट जनप्रतिनिधिहरूको कार्यक्रम भएको भन्दै विरोध गर्दै ब्यानर, माइक र कुर्सी मिल्काइदिएपछि जनप्रतिनिधिहरूको टोली कार्यक्रम स्थल छाडेर हिँडेको थियो ।

चौदण्डीगढी नगरपालिका– ९ का वडाध्यक्ष तथा प्रवक्ता प्रकाश राउतले मेयर, उपमेयर, मेरो वडाको म वडाध्यक्ष, १० का धमेन्द्र खड्कालगायतको टोलीमाथि आक्रमण भएपछि कार्यक्रम स्थल छाडेर हिँडेको बताए । उनले भने, ‘कार्यक्रम सुरु हुँदै थियो । जेन–जी हामी हौँ भन्ने युवाहरूले ब्यानर, कुर्सी, माइक कब्जा गरेपछि कार्यक्रम छाेडेर हामी हिँडेका हौँं ।’
उनले कार्यक्रमको विरोध भएको देखेपछि कार्यक्रम स्थल छाेडेर हिँडेको जानकारी दिँदै चौदण्डीगढी नगरपालिका– १० मा रहेको एक सहकारीको विवादले समस्या भएको बताए ।

चौदण्डीगढी नगरपालिका– १० हडियामा जनउत्थान कृषि तथा पशु सहकारी छ । त्यस सहकारीको अध्यक्ष वडा नम्बर १० कै वडाध्यक्ष धमेन्द्रकुमार खड्का छन् । उक्त सहकारीले आर्थिक अनियमिता गरेको आरोप जेन–जी युवाहरूको भएकाले विरोध भएको स्थानीय नवराज राउतले जानकारी दिए । उनले भने, ‘वडाध्यक्ष नै सहकारीको अध्यक्ष हुनुहुन्छ । सहकारीमा झन्डै २० लाख रुपैयाँ हिनामिना भएको अनुमान छ । यता विभिन्न विकास निर्माणका योजनाहरूमा घोटला भएको युवाको भनाइ छ ।  त्यसको विरोधमा आजको शुभकामना कार्यक्रममाथि जेन–जी युवाहरूले आक्रमण जस्तै गरी  ब्यानर, माइक मिल्काइदिएका थिए ।

इलाका प्रहरी कार्यालय चौदण्डीगढी बेल्टारका इन्स्पेक्टर बबिन राईले नगरपालिकाका जनप्रतिनिधिहरूले आयोजना गरेको शुभकामना कार्यक्रममा जेन–जी युवाको विरोध भएको बताए । उनले भने, ‘जेन–जी युवाहरू कार्यक्रम स्थलमा आक्रमण गरेर ब्यानर हटाउनेदेखि माइक मिल्काइदिने काम भएको रहेछ । कार्यक्रममाथि आक्रमण भएपछि जनप्रतिनिधिहरूको टोली हिँडेको हो ।’

सुझावित समाचार