महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा दुई साहित्यकार सम्मानित भएका छन् । बनेपा नगरपालिका–१० जनागालमा रहेको सयपत्री प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्ने सयपत्री राष्ट्रिय सम्मानद्वारा साहित्यकार प्राडा रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारी दम्पतीलाई सम्मान गरेको हो ।
प्रतिष्ठानद्वारा शनिबार आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा सयपत्री राष्ट्रिय सम्मान ०८२ तथा विशेष साहित्यिक कार्यक्रममा साहित्यकारद्वय सम्मानित भएका हुन् । सम्मानित जोडीलाई सम्मानपत्र, सयपत्रीको माला, दुवोको माला, दोसल्ला र बाटो खर्च पाँच हजार एक नगदसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
०५५ सालदेखि हरेक वर्ष जनागालमा साहित्यिक कार्यक्रम गरी राष्ट्रियस्तरका एक र काभ्रेली साहित्यकार एक जोडीलाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दै आएको छ ।
प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे, कृष्णचन्द्र सिंह प्रधान, रमेश विकल, चित्तरन्जन नेपाली, माधवलाल कर्माचार्य, शेषराज शिवाकोटी, मोहन दुवाल, तुलसी दिवस, मन्जुल, डा. खगेन्द्र लुइटेल, मोदनाथ प्रश्रित, डा. रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, डा. सुरेजराज शर्मा, ज्ञानकाजी मानन्धर, प्राडा अभि, सुवेदी, रामसुन्दर देउजा, प्राडा जीवेन्द्रराज गिरी, प्रभात सापकोटाको दम्पत्तिसहित ७० जनालाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरिसकेको छ ।
वरिष्ठ साहित्यकार एवं प्रतिष्ठान सल्लाहकार मोहन दुवालको अध्यक्षतामा तथा वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देशका विभिन्न क्षेत्रका र जिल्लाका श्रष्टाहरूले कविता वाचन गरेका थिए ।
सोही कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले आफना स्वर्गीय मातापिताको नाममा स्थापित सयपत्री रामभक्त भुवनदेवी स्मृति छात्रवृति प्रदान गरिएको छ । जनागालमा अवस्थित जनज्योति माध्यामिक विद्यालयबाट २०८१ को एसइई परीक्षामा सहभागी भई उत्कष्ट अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।