गतिशील लोकतान्त्रिक पार्टीका पदाधिकारीले चुनाव लड्न नपाउने

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा रहेको लोकतान्त्रिक गतिशील पार्टीका अध्यक्ष डा. दिनेश प्रसाईंले स्थानीय तहमा स्वतन्त्रबाट चुनाव जितेका प्रतिनिधि, समाजमा ख्याति कमाएका व्यक्तित्व, जेन-जीका प्रतिनिधिलगायतलाई पार्टीमा सहभागी गराउन छलफल भइरहेको बताएका छन्। धनगढीमा आज पत्रकार सम्मेलन गरेर उनले अहिलेको राजनीतिक अवस्थाले मुलुकको निकासका लागि आफूहरूले दुई वर्षदेखि नै घनिभूत रूपमा छलफल गरिरहेको उल्लेख गर्दै ६ महिनाअघि पार्टी गठनको निष्कर्षमा पुगेको बताए ।

 ‘विगत ६ महिनादेखि राजनीतिक दल नै गठन गरेर जानुपर्छ भन्ने निष्कर्षसहित २०८४ को निर्वाचनलाई मध्यनजर गरेर यो माघमा पार्टी गठन गर्ने योजना थियो,’ उनले भने, ‘तर जेन-जी आन्दोलनले गर्दा छिट्टै गठन गर्नुपर्यो ।’ बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतसहितको पहलमा पार्टी गठन गरिएको हो। बस्नेत लोकतान्त्रिक गतिशील पार्टीका केन्द्रीय सदस्य छन्। राजनीतिलाई नयाँ ढंगले पुनर्परिभाषित गर्नुपर्छ भनेर आफूहरू दल दर्ताको निष्कर्षमा पुगेको अध्यक्ष प्रसाईंले बताए।

नेपालको राजनीति एकदमै केन्द्रीकृत हुँदै गएको उल्लेख गर्दै उनले यसको पुनर्संरचना आवश्यक रहेको निष्कर्ष  सुनाए। गतिशील लोकतान्त्रिक पार्टी लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गर्ने प्रसाईंले बताए। ‘राजनीति शास्त्रको भाषामा राइट र लेफ्ट भन्ने छ,’ प्रसाईंले भने, ‘हामीले आफूलाई लोकतान्त्रिक कित्तामा उभ्याएका छौँ। २०७२ को संविधानका मूलभूत विषयलाई हामी स्विकार्छौँ।’

अध्यक्ष प्रसाईंले गतिशील पार्टीमा साधारण सदस्य र क्रियाशील सदस्यता लिने व्यवस्था रहने जानकारी दिए। क्रियाशील सदस्यता लिएको १६ वर्षसम्म मात्र पार्टीमा रहन पाउने व्यवस्था गरिने पनि उनले बताए। ‘आजीवन पार्टीमा भइराख्नुपर्छ भन्ने मान्यता हामी राख्दैनौँ,’ उनले भने, ‘क्रियाशील सदस्यता लिएको १६ वर्षपछि पार्टीबाट अलग भएर व्यक्तिले समाजका अरू क्षेत्रमा योगदान दिन सक्छ।’

त्यस्तै, पदाधिकारीले चुनाव लड्न नपाउने र २० प्रतिशत जनमत नल्याउँदासम्म सरकारमा सहभागिता नहुने व्यवस्था नीति पार्टीको रहने उनले जानकारी दिए। पदाधिकारी सातसदस्यीय रहने उनले बताए। ‘हामीले देशको हरेक क्षेत्रको विकास कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेर विस्तृत खाका बनाएका छौँ। पार्टी गठन भइसकेपछि त्यो सार्वजनिक गर्छौँ,’ अध्यक्ष प्रसाईंले भने, ‘हामी हाम्रा विषय लिएर जनतामाझ जानेछौँ।’ आगामी फागुनमा तोकिएको चुनावमा पार्टी सहभागी हुने उनको भनाइ थियो। 
 

सुझावित समाचार