- हाल विश्वबजारमा प्रतिऔँस चार हजार १०० अमेरिकी डलरमाथि पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य सन् २०२६ को अन्त्यसम्म प्रतिऔँस चार हजार ९०० अमेरिकी डलर पुग्ने गोल्डम्यान साक्सले प्रक्षेपण गरेको छ ।
गत बुधबार विश्वबजारमा सुनको मूल्य प्रतिऔँस चार हजार १०० अमेरिकी डलरमाथिको नयाँ रेकर्डमा पुग्यो । यो वर्ष सुरु भएयताको नौ महिनाभित्रै सुनको मूल्यमा असाधारण ५० प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । सन् २०२४ को सुरुदेखिको तुलना गर्ने हो भने यसमा झन्डै १०० प्रतिशत वृद्धि देखिएको छ । अहिले सुनको मूल्य विश्लेषकले प्रक्षेपण गरेभन्दा धेरै छिटो वृद्धि भइरहेको छ । सुनको बढ्दो मूल्यले लगानीकर्तासमेत आफ्नो पैसा यस बहुमूल्य धातुमा खर्चिन थालेका छन् । यसले गर्दा सम्पन्न मुलुकका सुन पसलबाहिर खरिद गर्न चाहनेको लामो लाइन देखिन थालेको छ ।
हाल सुनको मूल्यमा देखिएको रेकर्ड वृद्धि हुनुमा धेरै कारण जिम्मेवार रहेको बताइन्छ । यसमा अमेरिकी सरकारको ऋणको स्तर बढ्दै जानु र अहिले अमेरिकी सरकार ठप्प हुँदा उत्पन्न ठुलो आर्थिक अनिश्चितता सुनको मूल्यवृद्धिको एउटा कारण भएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबबिच अमेरिकाको केन्द्रीय बैंक युएस फेडरल रिजर्भको स्वतन्त्रताप्रतिसमेत अहिले चिन्ता बढ्न थालेको छ । यदि ट्रम्पको राजनीतिक हस्तक्षेपका कारण अमेरिकामा ब्याजदर घटाइयो भने त्यहाँ मुद्रास्फीति सुरु हुन सक्छ । यस्तो आशंकाबिच मानिसहरू सुनप्रति आकर्षित भएका हुन् । किनकि, सुनलाई पहिलेदेखि मुद्रास्फीतिले असर नगर्ने लगानीका रूपमा हेरिने गरेको छ ।
उल्लिखित कारण सुनको मूल्यमा पछिल्लो समय उछाल आएको भए पनि सुनको मूल्यवृद्धिको मुख्य कारण भने यो होइन । किनकि सुनको मूल्य विगत केही वर्षदेखि एउटा स्थिर गतिमा निरन्तर वृद्धि भइरहेको छ ।
यसका दुई कारण छन्, जसमध्ये पहिलो कारण हो, सुनको ‘एक्सचेन्ज–ट्रेडेड फन्ड (इटिएफ)’को बढ्दो माग । स्टक एक्सचेन्चमा कारोबार हुने यो फन्डले नै सुन वा स्टक तथा बन्डजस्ता अन्य सम्पत्तिको गति कता गइरहेको छ भन्ने देखाउने गर्छ । यसले उपभोग्य सामग्रीजस्ता सम्पत्तिलाई लगानीकर्ताका लागि बढी पहुँचयोग्य बनाउने काम गर्छ ।
सन् २००३ मा पहिलोपटक सुनको इटिएफ जारी गरिनुअघि नियमित लगानीकर्तालाई सुनको पहुँच धेरै गाह्रो मानिन्थ्यो । अहिले सुनको इटिएफ व्यापक रूपमा उपलब्ध छन् । यसले सुनलाई अन्य कुनै पनि वित्तीय सम्पत्तिजस्तै कारोबार गर्न सम्भव बनाएको छ । अहिले राजनीतिक वा वित्तीय अनिश्चितताको सम्भावना बढेको वेला स्टकजस्ता अन्य सम्पत्ति बढी जोखिमपूर्ण हुँदा लगानीकर्ताले सुरक्षित लगानीको रूपमा सुनमाथि लगानी बढाएका छन् ।
सुनको मूल्यवृद्धिमा खुद्रा लगानीकर्ताको उच्च मागका अतिरिक्त केही उदीयमान अर्थतन्त्रले आफ्नो आधिकारिक आरक्षित सम्पत्ति (रिजर्भ असेट)का रूपमा पहिलेको अमेरिकी डलर जस्ता मुद्रालाई सुनसँग साटिरहेका छन् । विशेषगरी, चीन र रुसले यस कदमलाई तीव्रता दिँदा उदीयमान देशको केन्द्रीय बैंकमा सुनको भण्डार सन् २००६ यता १६१ प्रतिशतले बढेर लगभग १० हजार ३०० टन पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ । तुलनाका लागि सन् २००५ सम्मको ५० वर्षमा उदीयमान देशको सुन भण्डारण केवल ५० प्रतिशतले बढेको छ ।
अमेरिका र प्रमुख आरक्षित मुद्रा (युरो, जापानी येन र ब्रिटिस पाउन्ड) भएका देशले वित्तीय प्रतिबन्ध लगाउने क्रम बढेपछि उदीयमान अर्थतन्त्रले सुनलाई आरक्षित सम्पत्ति बनाउने कामलाई तीव्रता दिएको अनुसन्धानले देखाउँछ ।
सन् २००६ देखि सुनको खुद खरिदकर्ता बनेको रुसले सन् २०१४ मा क्रिमियालाई कब्जामा लिएपछि सुन खरिदलाई तीव्र बनाएको थियो । त्यो समय पश्चिमले ऊमाथि आर्थिक तथा वित्तीय प्रतिबन्ध बढाएको थियो । अहिले रुससँग विश्वको सबैभन्दा ठुलोमध्ये एक सुन भण्डार छ । उता यहीबिच, चीनले अमेरिकी सरकारी बन्डहरू बेच्दै सुन खरिद गर्न थाल्यो । ‘डि–डलराइजेसन’ भनेर चिनिने यस प्रक्रियामार्फत चीन अमेरिकी मुद्रामाथिको आफ्नो निर्भरता कम गर्न खोजिरहेको छ ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि उसलाई स्विफ्ट भनेर चिनिने अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट निकालियो । त्यसपछि युक्रेनको सहयोगका लागि रुसी केन्द्रीय बैंकको पश्चिमी बैंकमा रहेको सम्पत्ति जफत गर्ने अमेरिकी र युरोपेली सरकारको प्रस्तावले अन्य उदीयमान बजारसमेत झस्किए । त्यसपछि तिनका केन्द्रीय बैंकहरूले समेत अमेरिकी डलर वा अन्य मुद्राको सट्टा सुन भण्डार बढाउन थालेका छन् । उदीयमान बजार–अर्थतन्त्रले डि–डलराइजेसन प्रयासमा थप निरन्तरता दिने अपेक्षा गरिएको छ ।
धेरै अर्थतन्त्रले अहिले पश्चिमी मुद्राको भण्डार गर्दा वित्तीय प्रतिबन्धको अवाञ्छित जोखिम हुने ठान्न थालेका छन् । सुनको मामलामा त्यस्तै हुँदैन । भविष्यमा वित्तीय प्रतिबन्धको असर कम गर्न सुनलाई नीतिगत उपकरण बन्न सक्छ ।
सुनको भाउ अझै बढिरहनेछ ?
रुस र चीनबाट सुनको माग जारी रहेको र सुन इटिएफका लागि लगानीकर्ताको माग पनि उच्च भएकाले सुनको मूल्य अझै बढ्न सक्छ । यी दुई पक्षले सुनको गहना तथा इलेक्ट्रोनिक्स सामग्रीको प्रयोगका लागि हुने नियमित मागबाहेकका वृद्धिको प्रतिनिधित्व गर्छन् । सुनको मूल्य बढ्दै जाँदा अरू थप लगानीकर्तासमेत यसमा आकर्षित हुन सक्छन्, विशेष आफूचाहिँ छुट्ने डरले गर्दा । यसले इटिएफ प्रवाहमा वृद्धिलाई थप बढावा दिने सम्भावना छ ।
विश्व सुन परिषद्ले गत हप्ता मात्रै सेप्टेम्बरमा इटिएफको मासिक प्रवाहले रेकर्ड कायम गरेको बताएको थियो । समग्र सेप्टेम्बर त्रैमासिकका लागि इटिएफ प्रवाह २६ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ । सेप्टेम्बरसम्मको नौ महिनाका लागि यस कोषको प्रवाह कुल ६४ अमेरिकी डलर पुगेको छ ।
त्यस्तै उदीयमान बजारका केन्द्रीय बैंकको सुनको माग मूल्यबाट भन्दा भूराजनीतिक कारकले सञ्चालित हुन्छ । अर्थात्, तिनले मूल्यको वास्ता नगरी आफूले तोकेको परिणाम खरिद गर्ने गर्छन् । यसले गर्दा सुनको बढ्दो मागलाई झन् उचाल्न सक्छ । यी दुई चालकका आधारमा गोल्डम्यान साक्सका विश्लेषकले यसअघिको प्रक्षेपण संशोधन गर्दै सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔँस चार हजार ९०० अमेरिकी डलर पुग्ने बताएका छन् ।
(हार्टिगन सिड्नी विश्वविद्यालयका अर्थशास्त्रका अध्यापक हुन् । ‘द कन्भर्सेसन’बाट श्रवण उप्रेतीको अनुवाद)