- एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’मा १ अंक मात्रै जोडेको नेपाल प्रतियोगिताबाट बाहिरियो
एएफसी यू–१७ महिला एसियन कप छनोटमा शुक्रबार नेपाल थाइल्यान्डसँग १२–० को विशाल गोलअन्तरले पराजित भएको छ । थाइल्यान्डले नेपालको कमजोर डिफेन्सको फाइदामा पहिलो हाफमा आठ र दोस्रो हाफमा चार गोल गर्दैै फराकिलो जित निकालेको हो । यसअघि छनोटको पहिलो खेलमा नेपालले तुर्किमिनिस्तानलाई गोलरहित बराबरीमा रोकेको थियो । एक अंक मात्र बटुलेको नेपाल छनोटबाट बाहिरिएको छ ।
चोनबुरी रंगशालामा सम्पन्न समूह ‘एफ’को निर्णायक खेलमा घरेलु टोली थाइल्यान्डले कुनै पनि समयमा नेपाललाई खेलमा फर्कन दिएन । जितसँगै थाइल्यान्डले दुई खेलमा स्पष्ट ६ अंक जोड्दै शीर्ष स्थानको हैसियतले अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनायो ।
नेपालमाथिको सानदार जितमा थाइल्यान्डकी चार्लोटे सिटिप्रासन एक्लैले पाँच गोल र कप्तान कुरिसमरम लिम्पावानिचले ह्याट्रिक गरेका थिए । मिडफिल्डर पट्टारामोन सेइटा र मोनथिडा नुम्नुवानले समान एक गोल गरे । थाइल्यान्डले एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त गरेको थियो । थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानलाई १७–० ले पाखा लगाएको थियो ।