प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन गराएर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । शुक्रबार अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सरकारको अपरिवर्तनीय म्यान्डेट रहेको बताइन् ।
सरकार गठनको एक महिनापछि युरोपियन युनियन तथा २६ देशका राजदूत एवं प्रतिनिधिलाई पहिलोपटक सम्बोधन गरेकी प्रधानमन्त्री कार्कीले निर्वाचनसँगै सुशासन र पारदर्शितामा पनि जोड दिइन् । उनले सरकार नयाँ वैधानिक राजनीतिक दिशा तयार पार्न गठन भएको सुनाइन् ।
‘हाम्रो सरकारको एक मात्र स्पष्ट र अपरिवर्तनीय म्यान्डेट निर्वाचन सम्पन्न गर्नु हो । अधिकतम ६ महिनाभित्र हामी लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्नेछौँ,’ आफू नेतृत्वको अन्तरिम सरकार गैरराजनीतिक र संक्रमणकालीन भएको स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले भनिन् ।
प्रधानमन्त्रीले सरकार कुनै राजनीतिक एजेन्डा अघि बढाउन नभई नयाँ वैधानिक राजनीतिक दिशा तयार पार्न गठन भएको पनि बताइन् । ‘हाम्रो प्राथमिकता आन्तरिक स्थिरता हो । लोकतान्त्रिक प्रक्रियाका लागि सुरक्षित, तटस्थ र विश्वसनीय वातावरण सुनिश्चित गर्नु हो,’ उनले भनिन् ।
सरकार पूर्ण रूपमा निर्वाचन तयारीमा लागेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई सशक्त बनाउने, सुरक्षा संयन्त्र सुधार्नेमा केन्द्रित भएको बताइन् । उनले राजनीतिक दलहरू, सरोकारवाला निकाय र जेन–जी प्रतिनिधिहरूसँग निरन्तर संवाद भइरहेको उल्लेख गरिन् ।
विदेशमा बसोबास गर्ने नेपालीका लागि बाह्य मतदान प्रणालीको सम्भावनाको अध्ययन भइरहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । उनले विगतमा जस्तै यसपटक पनि निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि अनुरोध गरिन् ।
प्रधानमन्त्रीले बहुदलीय लोकतन्त्रलाई नेपालको राजनीतिक व्यवस्थाको मेरुदण्ड बताउँदै लोकतान्त्रिक मूल्य र मान्यताप्रति दृढ प्रतिबद्धता नै देश अगाडि बढ्ने एक मात्र बाटो भएको बताइन् । सरकारको प्राथमिकता इमानदारी, जवाफदेहिता र पारदर्शी शासन रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । विगत र वर्तमान दुवैका लागि जवाफदेहिताको सुनिश्चिततामा सरकार सक्रिय भएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीले २३ र २४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनले शासन प्रणालीमा पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि नयाँ चेतना जगाएको उल्लेख गरिन् । ‘जनताको वास्तविक चाहना (सुशासन, आर्थिक अवसर र सार्वजनिक जीवनमा इमानदारी)को प्रतिबिम्बका रूपमा आन्दोलन भएको छ,’ उनले थपिन्, ‘यो आन्दोलनले हामी सबैलाई नागरिकको आवाज सुन्न, जवाफ दिन, सुधार गर्न र परिणाम देखाउन प्रेरित गरेको छ ।’