धनुषाको जनकपुरधाममा सुनचाँदी व्यवसायीको पसलमा शुक्रबार साँझ छापा हान्ने क्रममा प्रहरीलाई अवरोध हुँदा झडप भएको छ ।
सुनचाँदी व्यवसायी सञ्जय ठाकुरको पसलमा प्रहरीले छापा मारेर गरी सात किलो चाँदी बरामद गरिरहेका वेला व्यापारीले अवरोध गरेपछि झडप भएको हो ।
झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी र नौजना प्रहरी घाइते भएका छन् । टाउकोमा चोट लागेका भण्डारीको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार घाइते प्रहरीको अवस्था सामान्य छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र हवाईफायरसमेत गरेको छ ।
डिएसपी बमका अनुसार बिल नरहेको आशंकामा छापा मारेर चाँदी जफत गर्न खोज्दा भण्डारीसहितले प्रहरीलाई घेराबन्दी गरी हातपात गर्न थालेपछि झडप भएको हो । राजस्व अनुसन्धान विभागमा जानकारी गराएर छापा हानिएको उनले बताए ।
सुनचाँदी व्यवसायी पवन ठाकुरले भने शनिबार धनतेरस रहेको र सुनचाँदीको बढी बिक्री हुने गरेकाले सामान मिलाइरहेका वेला प्रहरीले सोधपुछ नगरी सामान नियन्त्रणमा लिन खोज्दा विवाद भएको बताए ।