बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै कार्यसम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबल राखी बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकको चाहनाअनुरूप प्रभावकारी कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन दिएका छन्। ७०औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय प्रहरीको व्यवहार जनमैत्री हुनुपर्नेमा जोड दिए । 

अभाव, प्रभाव र दबाबको बाबजुद हरेक विषय परिस्थितिलाई नेपाल प्रहरीले  सामना गर्दै राज्यले दिएको जिम्मेवारी दृढतापूर्वक गहन गर्दै आएको भन्दै प्रशंसा पनि गरेका छन्। 

प्रहरीलाई स्रोत–साधन बढाउन सरकार लागिरहेको उनको भनाइ छ । ‘निर्वाचन गराउने दायित्व छ, शान्ति र पर्याप्त स्रोत–साधन नभएमा कार्यसम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय सचेत छ, तसर्थ प्रहरीलाई साधन–स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ। नेपाल सरकारले तत्काल आवश्यक कदम अघि बढाउनेछ भन्ने विश्वास दिलाउँछ,’ उनले भने । 

जेन–जी आन्दोलनलाई आपराधिक मानसिकता व्यक्तिहरूले हिंसात्मक बनाएको र  आन्दोलनका आडमा आगजनी र लुटपाट गरेको उनको भनाइ छ । अर्यालले भने, ‘भदौ २३ र २४ गते जेन–जी युवा समूहद्वारा आयोजित विरोध प्रदर्शन र आन्दोलन अपेक्षाभन्दा फरक बन्न पुग्यो । आपराधिक मानिसकताका व्यक्तिहरूले आन्दोलनका आडमा नेपाल सरकारका महत्त्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू तथा व्यक्तिका निजी सम्पत्तिसमेतमा तोडफोड, आगजनी र लुटपाट गरी आन्दोलनलाई हिंसात्मक बनाए । सयौं प्रहरी कार्यालयमा आगजनी भयो, सवारीसाधनहरु तोडफोड भए, हातहतियार तथा सुरक्षा उपकरणहरूको लुटपाट भयो, प्रहरीमाथि आक्रमण पनि भयो र नेपाल प्रहरी नागरिक स्पन्दनमा बसेको संगठन हो भन्ने सत्य पनि हाल नागरिक सहभागितामा भइरहेको मर्मत र पुनर्स्थापनाले पुष्टि गरेको छ ।’ 

सुझावित समाचार