जेन–जी आन्दोलनपछि ट्राफिक प्रहरीले रातिको जाँच छाडेको थियो, त्यो पुन: सुरु भएको हो ?
होइन, नियमति जाँच भइरहेको थियो । मादक पदार्थ सेवन गरेर गाडी चलाउनेलाई पक्रिनेदेखि कागजात नलिई वा लापरबाह तरिकाले गाडी चलाउनेलाई कारबाही भइरहेको थियो । लामो दूरीको बाहनमा दुई चालक अनिवार्य गर्ने काममाथि निगरानी भइरहेकै थियो । असुरक्षाबिच केहीलाई प्रहरीको उपस्थिति घेटेको लागेको होला । तर, हामीले आफ्नो काम गरिरहेका थियौँ ।
जेन–जी आन्दोलनमा धेरै प्रहरी तथा ट्राफिकका भौतिक कार्यालयमा असर पुगेको छ । क्षतिका बाबजुद सीमित स्रोतमार्फत हामीले अधिकतम् सेवा दिइरहेका छौँ । यस क्रममा हामीलाई समुदाय तथा अन्य कार्यालयबाट पनि सहयोग पुगेको छ । हामी भदौ २३ अघि जुन स्तरमा काम गथ्र्यौं, अहिले पनि त्यही स्तरमा काम गरिरहेका छौँ । यसका लागि सिभिल र ट्राफिकको सहकार्य बढाइएको छ ।
अहिले बुलेट बाइक समात्ने अभियान चलाइएको हो ?
सडक अनुशासन पालना गर्न अहिले बुलेट बाइकविरुद्ध कारबाही गरिरहेको हो । बिहीबार मात्र दुई सयभन्दा बढी ठुलो ध्वनि निस्कने बुलेट बाइक नियन्त्रणमा लिइएको छ । सडक भनेको संवेदनशील स्थान पनि हो । यहाँ बिरामी, बालबालिका, वयोवृद्धि उमेरका मानिस पनि हिँडिरहेका हुन्छन् । अति ठुलो स्वरमा सवारीसाधन चलाउँदा ती नाजुक वर्गलाई असर गरिरहेको हुन्छ । यो रोकिनुपर्छ ।
आन्दोलनमा कैयौँ लाइसेन्स तथा कागजात जलेर नष्ट भएका थिए । त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
लाइसेन्स र कागजपत्र जलेका वा हराएकाहरूलाई सघाउने हिसाबले हामीले काम गरिरहेका छौँ । अहिले सर्बरमा समस्या आएका कारण केही दिन ढिला भएको होला । तर, प्रतिलिपि निकाल्न पनि प्रहरी कार्यालयको सिफारिस गर्ने कामलाई अनलाइनमार्फत सहज बनाउँदै छौँ । सो वेबसाइटभित्र गएर आवश्यक कागजात प्रिन्ट गरी यातायात कार्यालय गएर कागजात लिन सकिन्छ ।