नियमित महाधिवेशनतर्फ अघि बढ्यो कांग्रेस

शुक्रबार, ३१ असोज, २०८२
डिजिटल संस्करण

बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाए पनि कांग्रेस नियमित महाधिवेशनतर्फ अघि बढेको छ । बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएको जानकारी गराएका छन् ।

४७४३ प्रतिनिधिमध्ये विशेष महाधिवेशनका लागि २४८८ जनाको हस्ताक्षर बुधबार बुझाएका थिए । उनले विशेष महाधिवेशनका लागि दर्ता भएको पत्रबारे अध्ययन गरेर अघि बढाइने बताए । ‘महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेको पत्र प्राप्त भएको छ । उहाँहरूको मर्मअनुसार नै वैधानिक व्यवस्थामा टेकेर एउटा समझदारीमा पुग्छौँ,’ खड्काले भने ।

महामन्त्री गगन थापाले बैठकका एजेन्डा प्रस्तुत गर्दै विशेष महाधिवेशन माग गर्दै दर्ता भएको पत्रमा विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइने बताएका छन् । ‘विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएबमोजिम हस्ताक्षर बुझाउनुभएको छ । महाधिवेशन प्रतिनिधिहरूको निवेदन दर्ता भएको छ । उक्त निवेदन विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइनेछ,’ थापाले भने । उनले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्छ भन्ने मुख्य विषय रहेको बताए । ‘मलाई विश्वास छ, विशेष महाधिवेशन मागकर्ता साथीहरूको मंसिर मसान्तभित्र नियमित अधिवेशन हुनुपर्छ भन्ने कुरा मुख्य भएकाले नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्नेछौँ,’ थापाले भने ।

नियमित महाधिवेशनको कार्यतालिका आएमा विशेष महाधिवेशनको बहस सकिनेसमेत उनले बताए । केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशनको कार्यतालिका पारित गर्ने उनको भनाइ छ । ‘नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशन आवश्यक नरहेको निर्णयमा हामी पुग्नेछौँ,’ थापाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

बैठकमा नेता डा. शेखर कोइरालाले मंसिरभित्रै महाधिवेशन गर्ने गरी पार्टी महामन्त्रीले कार्यतालिका ल्याए त्यसमा आफ्नो समर्थन रहने बताएका थिए । ‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु,’ उनले भने, ‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ ? त्यसकारण म अत्यन्त विनम्रताका साथ भन्न चाहन्छु, कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउने हो भने ०८२ मंसिरमा हाम्रो १५औँ महाधिवेशन गर्नुपर्छ ।’ 

महाधिवेशनबाट आउने परिणामले २१ फागुनको निर्वाचनलाई आमजनताबिच कांग्रेसलाई फेरि एकपटक जागृत गराउने कोइरालाको भनाइ थियो । ‘यो ऐतिहासिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डी मात्र भएर आएको छैन । सही अर्थमा कांग्रेस देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, ऊर्जा र अनुभवी पिढीले सँगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ । महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने राष्ट्रिय निर्वाचनलाई आमजनताबिच कांग्रेसलाई फेरि एकपटक जागृत गराउनेछ,’ कोइरालाले भने । बिहीबारको बैठकमा मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाई, राजीव कोइराला, गुरु बराल र नृपबहादुर वडले पनि धारणा राखेका थिए ।

सुझावित समाचार