भ्रष्टाचार मुद्दामा पक्राउ परेका मधेश प्रदेशका सांसद सरोजकुमार सिंह २० लाख रुपैयाँ धरौटीमा छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बिहीबार पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
नक्कली उपभोक्ता समितिहरू बनाएर एक करोड ३६ लाख रकम हिनामिना गरेको अभियोगमा अख्तियारले उनलाई मुद्दा दायर गरेको थियो। अदालतले उनीसँग २० लाख धरौटी माग गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीले बताए। सिंह यसअघि अख्तियारबाट २० लाख धरौटीमा छुटेका थिए। त्यही धरौटी अदालतमा सारेर उनी छुटेका हुन्। आयोगले उनीसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको हो। सिंह जसपा नेपालका सांसद हुन्। मुद्दा दायर भएसँगै उनी सांसद पदबाट निलम्बनमा परेका छन्।