धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)ले गत वर्षको तुलनामा चालू शैक्षिक सत्र ०८२/८३ मा २० प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना हुने प्रक्षेपण गरेको छ । गत वर्ष विश्वविद्यालयमा पाँच हजारभन्दा बढी विद्यार्थी भर्ना भएकोमा यस वर्ष ६ हजारभन्दा बढी भर्ना हुने प्रक्षेपण गरेको हो ।
बिहीबार केयूले पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएका हो। काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर अच्युत वाग्लेका अनुसार यस वर्ष इन्जिनियरिङ विभागमा गत वर्षको तुलनामा तीन सयभन्दा बढी र विज्ञान संकायमा ९० भन्दा बढी विद्यार्थी भर्ना हुनेछन् ।
यस्तै आर्टस्, म्यानेजमेन्ट र शिक्षा संकायमा तीन सयभन्दा बढी विद्यार्थी थपिने प्रक्षेपण गरिएको छ। मेडिकल साइन्समा राष्ट्रिय चिकित्सा परिषद्को स्वीकृतिका आधारमा चार सयभन्दा बढी अतिरिक्त सिट थपिने विश्वविद्यालयले प्रक्षेपण गरिएको छ ।
विद्यार्थी वृद्धिको कारण विश्वविद्यालयको वहुविषयक कार्यक्रम, शैक्षिक पूर्वाधार सुदृढीकरण र गुणस्तरीय शिक्षाप्रति प्रतिबद्धताको परिणाम भएको वाग्लेको भनाइ छ । साथै, छात्रवृत्ति विस्तार, उद्योगसँगको सहकार्य र प्रादेशिक पहुँच कार्यक्रमहरूले विविध र समावेशी विद्यार्थी समूह निर्माणमा सहयोग गरेको उनले बताए ।
विदेशी प्राध्यापक नियुक्ति
काठमाडौं विश्वविद्यालयले शैक्षिक र अनुसन्धान गतिविधिहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विदेशी प्राध्यापक नियुक्तिमा ठोस कदम चालेको छ । विश्वविद्यालयले सन् २०२५ जुलाइमा कम्तीमा एक सत्रका लागि विश्वविद्यालयमै उपस्थित भई अध्यापन गर्न इच्छुक विदेशी प्राध्यापकहरूबाट अभिरुचि आह्वान गरेको थियो । विश्वभरका चार सय ५० भन्दा वढी प्राध्यापकवाट अभिरुची प्राप्त भएको विश्वविद्यालयले जानकारी दिएको छ ।
विश्वविद्यालयले शैक्षिक सत्र ०८२÷८३ का लागि १२ जना विदेशी प्राध्यापक नियुक्त गरेको छ । स्कुल अफ आट्र्स, स्कुल अफ एजुकेसन, स्कुल अफ मेडिकल साइन्सेज र स्कुल अफ साइन्समा प्राध्यापकहरू नियुक्त भइसकेका विश्वविद्यालयले जानकारी दिएको छ । उपकुलपति प्राडा वाग्लेका अनुसार ताइवान, भारत, अमेरिका, चीन, दक्षिण कोरिया लगायत देशका प्राध्यापकहरूले अध्यापन गर्ने भएका हुन् । विश्वविद्यालयले निकट भविष्यमा विदेशी प्राध्यापकको संख्या १० प्रतिशत बनाउने लक्ष्य राखेको छ ।
विश्वविद्यालयबाट तीन दशकमा दीक्षित हुनेमध्ये १२ प्रतिशत विद्यार्थी विदेशी छन् । हालसम्म ५५ देशका करिब पाँच हजार ६ सय ५० विद्यार्थी दीक्षित भएका छन् । साथै, ४१ देशका २९० भन्दा बढी अन्तर्राष्ट्रिय प्राज्ञिक तथा अनुसन्धानमा आधारित संस्थाहरूसँग विश्वविद्यालयको सहकार्य रहेको छ ।