निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक जारी छ। कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक केही समयअगाडि सुरु भएको हो। छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्।
आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको हो। संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरू छलफलमा सहभागी छन्।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका तोकिएको छ। गत भदौ २३ र २४ गते जेन–जी आन्दोल भएको थियो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ।
आगामी निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्तअगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ।
निर्वाचन आयोगले निर्वाचनको तयारीअन्तर्गत गरिरहेका कामबारे दलहरूलाई जानकारी गराउने र दलहरूको सुझाव लिने उद्देश्यले बिहीबारको छलफल आयोजना गरिएको हो।