क्षति मूल्यांकनकर्तासम्बन्धी निर्देशिकाको मस्यौदा तयार

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

बिमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ को संशोधन मस्यौदा र क्षति मूल्यांकनकर्तासम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरेको छ ।

बुधबार प्राधिकरणको केन्द्रीय कार्यालयमा बिमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडीबुटी बिमासम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मस्यौदामाथि छलफलसमेत भएको छ । 

कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्बन्धमा र प्राधिकरणले पहिलोपटक व्यवस्था गर्न लागेको क्षति मूल्यांकनकर्तासम्बन्धी निर्देशिकाको मस्यौदाका सम्बन्धमा बिमकका राय–सुझाब लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्राधिकरणबाट प्रस्तुतमाथि विस्तृत छलफल भएको थियो ।

सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिससम्बन्धी व्यवस्था र कृषि बिमा रियल टाइम सफ्टवेयर (एएलआइएस)को सञ्चालनको विद्यमान अवस्था, आइपरेका समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा बिमकका प्रतिनिधिबाट सुझाब लिइएको थियो ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले निर्देशिकालाई सामयसापेक्ष परिमार्जन गर्न लागेकाले त्यसका लागि वास्तविक राय–सुझाब दिन आग्रह गरेका थिए । उनले बिमकबाट प्राप्त राय–सुझाबलाई समेटेर निर्देशिकाको मस्यौदालाई अन्तिम रूप दिने जानकारी दिएका थिए ।

सुझावित समाचार