तारेखमा छुटेका मधेश प्रदेशका सांसद पुनः पक्राउ, बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई पुनः पक्राउ गरेको छ। सांसद विकास कोषको रकम दुरुपयोगको अनुसन्धानमा बिहीबार नियन्त्रणमा लिइएको हो। सिंहलाई पक्राउ गरी उनीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए। 

गत २९ जेठमा आयोगको टोलीले उनलाई अनामनगरबाट पक्राउ गरेको थियो। बयान लिएपछि आयोगले उनलाई तारेखमा राखेर छाडेको थियो । 

यसअघि आयोगले उनका पिएलाई पक्राउ गरी सो विषयमा अनुसन्धान गरेको थियो। कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन  आफ्नो खातामा हालेको प्रमाण भेटिएको छ । कोषको रकम उपभोक्ता समितिलाई खर्च गरी उनले बैंक खातामै कमिसन बुझ्दै आएका थिए। जसपाका सांसद सिंह पूर्वगृहराज्यमन्त्री (आन्तरिक मामिला)समेत हुन्। उनी महोत्तरीको क्षेत्र नम्बर ४(ख)बाट निर्वाचित भएका थिए।  

अख्तियारले गत १२ गते सांसद सिंहका निजी सचिव विनोदकुमारलाल कायस्थलाई पनि नियन्त्रणमा लिएको थियो । 

सुझावित समाचार