बनेपा नगरपालिका–५ घोगेचौरस्थित शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रम स्थगन भएको छ । बनेपा नगरपालिका र अस्पतालको द्विपक्षीय सम्झौता भई सञ्चालित कार्यक्रम १ कार्तिकदेखि स्थगन भएको हो ।
बुधबार अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी उक्त कुरा जानकारी दिएका हुन् । हाललाई नेपाल सरकारले आमा सुरक्षा कार्यक्रमकोे लागि दिँदै आएको बजेट रोकिएकोले सेवा स्थगन गर्न बनेपा नगरपालिकाले दिएको पत्रको आधारमा अस्पतालले जानकारी दिएका छन् ।
१४ वर्षदेखि दिँदै आएको सेवा रोक्नु पर्दा दुःख लागेको अस्पतालका कार्यकारी अधिकृत डा. हेक्टर गायरसले बताए । हेक्टरका अनुसार अस्पतालले गत आर्थिक वर्षमा तीन करोड ४० लाख छुट दिएकोमध्ये एक करोड ४० लाख आमा सुरक्षा कार्यक्रममा मात्र दिएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत ५० प्रतिशत अस्पतालले छुट दिएको, नेपाल सरकारले ३० प्रतिशत व्यहोरेको र २० प्रतिशत सेवाग्राहीबाट लिँदै आएको उनले बताए ।
मातृ शिशु मृत्युदर घटाउनको लागि ‘आमा सुरक्षा कार्यक्रम’ ११ फागुन ०६८ देखि बनेपा नगरपालिकासँग सम्झौता गरेर सञ्चालन गर्दै आएका थिए । बनेपा नगरपालिकाले आमा सुरक्षा कार्यक्रम स्थगन गर्नको लागि पठाएको पत्रको आधारमा सेवा स्थगन गरेको अस्पतालकी भिपी मेडिकल अफेयर्स डा. एन्जेला बस्नेतले बताए । गत आर्थिक वर्षमा एक हजार ५४८ जना अस्पतालमा सुत्केरी भएकोमा सात सय जना नर्मल र ७७४ जना शल्यक्रियामार्फत सुत्केरी भएका थिए ।
आमा सुरक्षा कार्यक्रममा ५० प्रतिशत छुट
नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम स्थगन गरे पनि अस्पतालले दिने ५० प्रतिशत छुट यथावत दिने निर्णय गरेको अस्पतालका कार्यकारी अधिकृत हेक्टरले जानकारी दिए । उनका अनुसार ल्याब परीक्षण, भिडियो एक्स रे र एक्स रे सेवाबाहेक अन्य सेवामा ५० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट दिने सेवा रहेको छ । नेपाल सरकारले गर्दै आएको ५० प्रतिशत छुट सेवा आगामी दिनमा सेवाग्राहीले व्यहोर्नुपर्ने छ ।
सरकारले ०५४ सालदेखि ‘आमा सुरक्षा कार्यक्रम’ लागु गरेको थियो । सो अघि नेपालमा एक लाख सुत्केरीमध्ये ५३९ जना मातृशिशु मृत्यु हुँदै आएको थियो । सो मृत्युदर घटाउनको लागि कार्यक्रम लागु गरेको थियो ।
संघीय सरकारबाट पर्याप्त बजेट विनियोजन नभएको र उक्त बजेटबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न पर्याप्त नहुने देखिएकोले स्रोत सुनिश्चित नहुन्जलसम्मको लागि १ कार्तिकदेखि गर्नु परेको बनेपा नगरपालिकाले जानकारी दिए ।
अस्पतालमा काभ्रे जिल्लासँगै भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुलीलगायत जिल्लाका सेवाग्राहीहरूलाई सेवा दिँदै आएका छन् ।