आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेको बताएका छन्। उनले संसद् पुनर्स्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताए।
बुधबार रिपोर्टर्स क्लब नेपालमा वर्तमान विषम परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्दै साहले अहिलेको सिस्टमलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। वर्तमान व्यवस्थालाई उनले दलतन्त्रको ओढारको संज्ञा दिए।
साहले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको प्रस्ट पारे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ।
सभामुख देवराज घिमिरेलाई संसद् पुनर्स्थापनाको पक्षमा टाउको नउठाउन चेतावनी दिए। संसद् पुनर्स्थापनाको कुरा जनताले उही वेलामा खारेज गरिसकेको बताउँदै उनले फेरि गिजोल्ने काम आफूहरूलाई स्वीकार्य नभएको बताए।
दलतन्त्रको लुट र भ्रष्टाचारविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउँदै साहले अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरूले तेस्रो जनआन्दोलनको उद्घोष गरेको बताए।