चन्दननाथ नगरपालिका– ५, खलंगा बजारस्थित जिल्ला प्रशासन कार्यालय जुम्लाको अगाडि कलात्मक गणेश मन्दिर निर्माण गरिएको छ । खलंगालाई धार्मिक पर्यटकीय सहर बनाउने उद्देश्यका साथ कलात्मक गणेश मन्दिर निर्माण गरिएको हो । कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरले चिनिएको जुम्लाको एक मात्र नगरपालिका चन्दननाथलाई पर्यटकीय सहर बनाउने प्रयास अघि बढेको छ ।
चन्दननाथ नगरपालिका जुम्लाले आन्तरिक तथा बाह्य लगानी जुटाएर कलात्मक गणेश मन्दिर निर्माण गरेको हो । ललितपुर महानगरपालिकाको २० लाख सहयोगमा चन्दननाथ नगरपालिकाले गणेश मन्दिर निर्माण गरेको हो। नवनिर्मित मन्दिरको मंगलबार विधिवत् पूजाआजा गरी ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरे ।
चन्दनाथ नगरपालिका र ललितपुर महानगर पालिकाको भगेनी सम्बन्ध रहेको र चन्दननाथलाई पर्यटन सहर बनाउने योजनाअनुरूप महानगरले २० लाख सहयोग गरेको थियो । सोही बजेटबाट उपभोक्ता समितिमार्फत ऐतिहासिक कलात्मक गणेश मन्दिर निर्माण गरिएको हो । भाषा, संस्कृतिको जननी जुम्ला त्यसमा पनि ऐतिहासिक चन्दननाथ नगरपालिकालाई पर्यटकीय सहर बनाउन महानगरले सधैँ सहयोग गर्ने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले बताए ।
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले चन्दननाथमा धार्मिक पर्यटनको सम्भावना प्रचुर रहे पनि लगानी बढाउन नसकेको बताए । उनले भने, ‘यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने खालका पूर्वाधार निर्माणमा नगरपालिकाले जोड दिएको छ ।’ ललितपुरबाटै शिल्पकारहरू ल्याएर आकर्षक कलात्मक मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष नवराज श्रेष्ठले बताए । उनका अनुसार साढे चार महिना लगाएर मन्दिर निर्माण गरिएको छ । जुम्लाकै ढुंगा कुँदेर गणेश भगवानको मूर्ति प्रतिस्थापन गरिएको छ ।
उनले भने, ‘मन्दिर निर्माणका लागि २० लाख विनियोजन गरिए पनि काम करिब २२ लाखबराबर गरेका छौँ । यद्यपि, नगरपालिकाले २० लाख नै भुक्तानी दिने भनेको छ । भुक्तानी हुन बाँकी नै छ ।’ जुम्ला सदरमुकाम खलंगाको मुख्य बजारमा निर्माण गरिएको कलात्मक गणेश मन्दिरले बजारको सुन्दरतालाई थप बढाएको छ ।