आइसिसी टी–२० विश्वकप छनोट : विश्वकपमा पुग्न नेपाल र ओमानलाई एक जित आवश्यक

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्न नेपाल र ओमानलाई एक जित आवश्यक छ । ओमानमै चलिरहेको विश्वकपअन्तर्गत एसियन छनोटमा दुवै टोलीले बुधबार सुपर सिक्समा प्रतिस्पर्धा गर्दै छन् । सुपर सिक्समा नेपाल र ओमानले समान तीन खेलबाट ६ अंक बटुलेका छन् । रनरेटमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ । दुवै टोली अहिलेसम्म छनोट प्रतियोगितामा अपराजित छन् । नेपालले पछिल्लो दुई खेलमा युएई र कतारमाथि अन्तिम ओभरमा सनसनी जित निकालेको थियो । ओमानले पनि संघर्षपूर्ण जित हात पारेको थियो ।

सुपर सिक्सका ६ मध्ये शीर्ष तीन टोली मात्र अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन् । घरेलु टोली ओमानलाई हराउँदा नेपाल एक अगाडि नै विश्वकपमा पुग्न सक्छ । ओमानसँग पराजित भए नेपालले शुक्रबार सामोआलाई हराउनुपर्नेछ । समग्र रूपले विश्वकपमा स्थान सुरक्षित गर्न नेपाल एक जित मात्र खाँचो छ । सुपर सिक्सका बाँकी दुवै खेल जिते नेपाल च्याम्पियनका रूपमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकपमा पुग्नेछ ।

सुपर सिक्समा युएई र जापानले समान दुई अंक जोडेका छन् । सामोआ र कतारले अंक जोड्न सकेका छैनन् । सुपर सिक्समा बाँकी दुई खेलमा हारको सामना गरे पनि नेपालको छनोट हुने सम्भावना छ । यसमा रनरेट र अन्य नतिजामा निर्भर हुनुपर्नेछ । नेपालले दुवै खेल गुमाउँदा पनि ६ अंक हुनेछ । यद्यपि, यस्तो समीकरणमा जापानको विश्वकप पुग्ने सम्भावना प्रवल रहनेछ । जापानले बाँकी तीनवटै खेलमा कतार, युएई, र ओमानलाई हराउँदा आठ अंक जोड्नेछ । यस अवस्थामा जापान नेपालभन्दा माथि रहन सक्छ । जापानले यस्तो नतिजा निकाल्न नेपालले दुवै खेल हार्नुपर्छ ।

युएईले तीन खेलबाट दुई अंक जोडेको छ । युएईले अब सामोआ र जापानविरुद्ध खेल्न बाँकी छ । युएईले दुवै खेल जित्दा ६ अंक बटुल्नेछ । सामोआले अहिलेसम्म दुई खेलबाट अंक जोड्न सकेको छैन । सामोआले युएई, कतार र नेपालसँग खेल्न बाँकी छ । तीनवटै खेल जित्दा सामोआको ६ अंक हुनेछ । नेपाल, युएई र सामोआका समान ६ अंक हुँदा नेट रनरेटका आधारमा टोलीको छनोट हुनेछ । 

नेपाल र ओमानबिच आठ टी–२० आई खेल
नेपाल र ओमानबिच अहिलेसम्म आठ टी–२० आई खेल भएका छन् । जसमा नेपालले पाँच र ओमानले तीनपटक जित निकालेको छ । यी दुईबिच एकपटक टाई भएको थियो । सन् २०२३ मा त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । ओमानले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन जोडी खेल टाई गरेको थियो । सन् २०२२ मा ओमानले नेपालविरुद्ध सबैभन्दा कम योगफलका रूपमा ८७ रन जोडेको थियो । नेपालले १६.२ ओभरमा एक विकेट गुमाएर ओमानमाथि पहिलोपटक नौ विकेटको जित निकाल्यो । 
 

सुझावित समाचार