- सेप्टेम्बर २५ मा बिजुली र पानीको अभावलाई लिएर सुरु भएको सरकारविरोधी प्रदर्शन र त्यसपछिको अशान्तिले नाटकीय स्वरूप लिएपछि मेडागास्करको राजनीतिमा सेनाले हस्तक्षेप गरेको छ । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएदेखि नै सेनाले राजनीतिमा बारम्बार हस्तक्षेप गर्दै आएको छ ।
जेन–जी आन्दोलनपछि देश छाडेर भागेका मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले छिटै राष्ट्रलाई सम्बोधन गर्ने घोषणा गरेका छन् । प्रदर्शनकारी र सेनाको वृत्तबाट राजीनामा दिन दबाबबिच राजोएलिनाले मंगलबार राति राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्ने राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । भ्रष्टाचार, बेथिति, बढ्दो लोडसेडिङ, विद्युत्मा न्यून जनसंख्याको पहुँच र आर्थिक अनियमिततालाई लिएर केही सातादेखि चर्किएको युवाहरूको आन्दोलन उत्कर्षमा पुगेसँगै आइतबार यस पूर्वी अफ्रिकी देशका राष्ट्रपतिले देश छाड्न बाध्य भएका थिए ।
विद्यार्थी नेतृत्वको प्रदर्शन चर्किएपछि सरकारले चरम दमन गरेको थियो । यद्यपि, राष्ट्रपतिले सप्ताहन्तमा एक कदम पछि हट्न बाध्य भए । किनभने, एक विशिष्ट सैन्य एकाइले प्रदर्शनकारीलाई साथ दिँदै राष्ट्रपतिको राजीनामा माग गरेको खबर बाहिर आयो । सिएपिएसएटी एकाइका सिपाहीहरू शनिबार खुलमखुला प्रदर्शनकारीको पक्षमा उभिएका थिए । भोलिपल्ट सशस्त्र बलमन्त्रीको उपस्थितिमा आयोजित एक समारोहमा नयाँ सैन्य प्रमुखलाई नियुक्त गरेपछि राष्ट्रपतिले आफूमाथि कु गरिएको आरोप लगाए । यसैबिच, देशको नियन्त्रण गुमाएको निरन्तर हल्लासँगै प्रदर्शनकारीले राजधानी एन्तानानारिभोमा नयाँ र्याली आह्वान गरेका छन् ।
कहाँ भागे राष्ट्रपति ?
राष्ट्रपति कहाँ छन् भन्ने स्पष्ट छैन । ०२३ मा राजोएलिनविरुद्ध उम्मेदवारी दिएका विपक्षी नेता साइटेनी रान्ड्रियानासोलोनियाइकोले राष्ट्रपति अहिले माडागास्करमा नभएको दाबी गरेका छन् । रान्ड्रियानासोलोनियाइकोको भनाइ उद्धृत गर्दै समाचार संस्था रोयटर्सले अगाडि लेखेको छ, ‘हामीले राष्ट्रपति कार्यालयका कर्मचारीलाई फोन गर्यौँ । उनले देश छाडेको पुष्टि भएको छ ।’ उक्त समाचार संस्थाले एक सैन्य स्रोतलाई हवला दिँदै राष्ट्रपति आइतबार सेनाको विमान चढेर अज्ञातस्थलतर्फ भागेको उल्लेख छ । राष्ट्रपतिले देश छाडेको विवरणसँगै सोमबार सयौँ मानिस उत्सव मनाउन सडकमा भेला भएका थिए । समारोहमा केही सैनिक पनि सामेल भए । त्यसलगत्तै विद्यार्थीले सेनाको सवारीसाधनमा झुन्डिएर देशको राष्ट्रिय झन्डा फहराएका थिए ।
सेप्टेम्बर २५ मा बिजुली र पानीको अभावलाई लिएर सुरु भएको सरकारविरोधी प्रदर्शन र त्यसपछिको अशान्तिले नाटकीय स्वरूप लिएपछि मेडागास्करको राजनीतिमा सेनाले हस्तक्षेप गरेको छ । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएदेखि नै सेनाले राजनीतिमा बारम्बार हस्तक्षेप गर्दै आएको छ । आइतबार एन्तानानारिभोस्थित राजनीतिक विद्रोहको परम्परागत मुटु मानिने प्रतीकात्मक मे १३ स्क्वायरमा सिएपिएसएटी सिपाहीसँगै उत्सव मनाउन मानिस भेला भएका थिए । फ्रान्सको सार्वजनिक प्रसारक आरएफआईका अनुसार प्रदर्शनमा पूर्वराष्ट्रपति मार्क राभालोमानाना पनि सहभागी थिए, जसलाई राजोएलिनाले अपदस्थ गरेका थिए ।
आफूलाई सुधारवादीको रूपमा प्रस्तुत गर्दै राजोएलिनाले २०१४ सम्म संक्रमणकालीन सरकारको नेतृत्व गरे पनि संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न असफल भए । सन् २०१९ को चुनाव जितेर सत्तामा फर्किएका उनले सन् २०२३ मा दोस्रो पूर्ण कार्यकाल सुरक्षित गरे । संयुक्त राष्ट्र संघले प्रदर्शन सुरु भएदेखि कम्तीमा २२ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको बताएको छ, यद्यपि सरकारले यो तथ्यांक अस्वीकार गरेको छ । शनिबारको झडपमा एक सैन्य क्याप्टेनको मृत्यु भएको थियो ।
विश्वको सबैभन्दा गरिब राष्ट्रमध्ये एकमा यी विरोध प्रदर्शनले गहिरो निराशा उजागर गरेका छन्, जहाँ जनसंख्याको एकतिहाइ मात्र बिजुलीको पहुँचमा छ र ब्ल्याकआउट नियमित रूपमा दिनको आठ घण्टाभन्दा बढी हुन्छ ।
यसैबिच राष्ट्रपति एन्ड्री राजोएलिनाले आफ्नो ज्यान लिने प्रयासपछि ‘सुरक्षित ठाउँमा’ शरण लिइरहेको बताएका छन् । फेसबुक लाइभबाट बोल्दै ५१ वर्षीया राजोएलिनाले भने, ‘सैन्य कर्मचारी र राजनीतिज्ञको समूहले मलाई मार्ने योजना बनाएको थियो । सेप्टेम्बर २५ देखि मेरो ज्यान लिने कु प्रयास भएका छन् ।’
‘मलाई जीवन बचाउन सुरक्षित ठाउँ खोज्न बाध्य पारियो । यी समस्या समाधान गर्ने एउटै मात्र तरिका भनेको देशमा लागू भएको संविधानको सम्मान गर्नु हो,’ उनले भनेका छन् । उनले आफू बसेको स्थान खुलाएनन्, तर अपुष्ट रिपोर्टले उनी फ्रान्सेली सैन्य विमानमा देश छाडेर भागेको जानकारी दिएका छन् । यसैबिच मेडागास्करको सबैभन्दा ठुलो विपक्षी दल टिआइएमका एक वरिष्ठ नेताले मेडागास्कर अब प्रभावकारी रूपमा सैन्य एकाईद्वारा शासित भइरहेको बताएको बिबिसीले जनाएको छ ।
सोमबार सैन्य कमान्डरहरूको बैठकपछि सिएपिएसएटीद्वारा स्थापित नयाँ सेना प्रमुख जनरल डेमोस्थेन पिकुलासले सुरक्षा बलहरू टापु राष्ट्रमा व्यवस्था कायम राख्न मिलेर काम गरिरहेका भन्दै सर्वसाधारणलाई ढुक्क हुन आग्रह गरेका छन् ।
राजोएलिनाका धेरै भित्री सदस्य नजिकैको देश मौरिसस भागेका छन् । प्रचुर मात्रामा प्राकृतिक स्रोतसाधन भए पनि मडागास्कर विश्वको सबैभन्दा गरिब देशमध्ये एक हो । त्यहाँका लगभग ७५ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् ।