श्रम शोषणमा परेको भन्दै पोखरा फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरूले काम छाडेर आन्दोलन थालेको पाँचौँ दिन भयो । उनीहरू अस्पतालले दिँदै आएको मासिक १५ हजार तलबले घर नचल्ने भन्दै गत शुक्रबारदेखि आन्दोलित भएका हुन् ।
यस्तैबिच मणिपाल अस्पताल प्रशासनले मंगलबार प्रेस विज्ञप्तi जारी गर्दै नर्सिङ कर्मचारीहरूलाई २४ हजार २८७ देखि २९ हजार ५७८ रुपैयाँ तलबभत्ता दिने र काममा फर्कन आग्रह गरेको छ । यद्यपि, आन्दोलनरत नर्सिङ कर्मचारीहरूले सरकारले तोकेको तलबभत्ता नपाएसम्म काममा नफर्कने अडान लिएका छन् ।
नर्सिङ कर्मचारीका लागि चार तहको तलबभत्ता प्रस्ताव
विज्ञप्तीअनुसार अस्पतालले शैक्षिक योग्यताको हिसाबले नर्सिङ कर्मचारीलाई चार तहमा विभाजन गरेर नयाँ मासिक तलबभत्ता प्रस्ताव गरेको हो । जसअनुसार फ्रेस नर्सिङ स्टाफका लागि २४ हजार २८७ रुपैयाँ, सिएम/एनएमका लागि कम्तीमा एक वर्षको कार्य अनुभवसहित २६ हजार ५८७ रुपैयाँ, पिसिएल स्टाफ नर्सका लागि कम्तीमा एक वर्षको कार्य अनुभवसहित २८ हजार ५७८ रुपैयाँ र बीएससी/बिएन स्टाफ नर्सका लागि कम्तीमा एक वर्षको कार्य अनुभवसहित २९ हजार ५८७ रुपैयाँ तलबभत्ता प्रस्ताव गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालको प्रस्ताव आन्दोलनमा उत्रेका नर्सिङ कर्मचारीसँगै वार्ता टोलीमा सहभागीहरूलाई दिएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तिमा अस्पताल प्रशासनले आन्दोलनमा उत्रेको नर्सिङ कर्मचारीहरूको ९५ प्रतिशत माग सम्बोधन भइसकेको र काममा फर्कन आग्रह गरेको छ ।
सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएसम्म आन्दोल जारी रहन्छ
अस्पताल प्रशासनले नयाँ तलबभत्ता प्रस्ताव गरे पनि आन्दोलनमा सहभागी नर्सिङ कर्मचारीहरूले भने स्वास्थ्य मन्त्रालयको तोकेको न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधा पाउनुपर्ने अडान लिएका छन् । सरकारले तोकेको सेवासुविधा जती छ त्यो नपाएसम्म आफूहरु काममा नजाने अडान नर्सिङ कर्मचारीहरूको छ । यस विषयमा अस्पताल प्रशासन र नर्सिङ कर्मचारीबिच वार्ता जारी छ ।
यी हुन् नर्सिङ कर्मचारीका माग
आन्दोलनमा उत्रेका नर्सिङ कर्मचारीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तोकेको न्यूनतम पारिश्रमिक र अन्य सेवा सुविधा पाउनुपर्ने, अतिरिक्त समय काम गर्दाको सेवा सुविधा नपाएको, तलब समयमा नपाएको, वार्षिक रुपमा पाउँदै आएको चाडपर्व बिदा, घर बिदा, बिरामी बिदालगायत बिदा कटौती गरेको, ओभर लोड काम गर्नु परेको, तालिम बापत पाउँदै आएको सुविधा नपाएको, जोखिम विभागमा काम गर्नेले सोहीअनुसारको भत्ता नपाएको लगायतका ९ बुँदे माग राखेका छन् ।
यसअघि नर्सिङ कर्मचारीहरूले १० असोज राति २०ः०० बजे ‘तलबभत्ता वृद्धि नभएसम्म काममा नजाने’ निर्णय गर्दै आन्दोलको घोषणा गरेका थिए । काममा नजाने निर्णय गरे पनि आइसियूका बिरामीको उपचारमा समस्या हुने भन्दै नर्सिङ सुपरभाइजरले सम्झाएपछि काममा फर्केका थिए ।
यस्तो छ अस्पतालको दाबी
आन्दोलनमा उत्रेको नर्सिङ कर्मचारीहरूले आफुहरूले मासिक १५ हजार मात्र तलब भत्ता पाएकोले बताए पनि अस्पताले जारी गरेको विज्ञप्तीमा भने न्यूनतम १७ हजार तीन सय दिँदै आएको जनाएको छ । प्रत्येक महिनाको ७ गते तलबभत्ता भुक्तानी गर्दै आएको, नर्सिङ कर्मचारीहरूलाई साप्ताहिक एक दिन बिदा, घर बिदा, बिरामी बिदा र सरकारले तोकेका सम्पूर्ण सार्वजनिक बिदा प्रदान गर्दै आएको, अतिरिक्त समय काम गर्ने नर्सिङ कर्मचारीहरुका लागि अतिरिक्त कार्यसमयको उचित मूल्यांकन र भुक्तानी सुनिश्चितका लागि टाइम बैंकिङ प्रणालीको व्यवस्थित व्यवस्था गरेको जनाएको छ ।
अस्पतालको अनुरोध
अस्पताल प्रशासनले तीन दशकदेखि यस प्रदेशमा गुणस्तरीय, सुरक्षित र उदाहरणीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्थाले ‘न्यून पारिश्रमिकमा काम गराइयो’ वा ‘श्रम शोषण गरियो’ भन्ने आरोप तथ्यहीन र भ्रामक रहेको भन्दै आपत्ति प्रकट गरेको छ । अस्पताल प्रशासनले हरेक समस्या समाधानको माध्यम संवाद नै रहेकाले हालका गतिविधिले संस्था, सेवा उपभोक्ता र सम्पूर्ण स्वास्थ्य प्रणालीमा नकारात्मक प्रभाव पार्ने सक्ने भएकाले सबै सरोकारवालालाई शान्तिपूर्ण, जिम्मेवार र संवादमुखी माध्यमबाट समस्या समाधान खोज्न विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।